एसियाली फुटबलको महाविपत्ति: कीर्तिमानी संख्या, कीर्तिमानी असफलता र संकटमा महादेश

- अहमद अली  

 ब्राजिलको हातबाट जापान बाहिरिएसँगै यस फिफा विश्वकपबाट सबै एसियाली टोलीहरूको यात्रा समाप्त भएको छ। अब एसियाली फुटबल महासंघ(एएफसी)बाट अस्ट्रेलिया मात्र नकआउट चरणमा बाँकी छ, तर भौगोलिक रूपमा अस्ट्रेलिया एसियाली राष्ट्र होइन।

यसपटक एसियाले विश्वकपको इतिहासमै आफ्नो सबैभन्दा ठुलो टोली, ९ वटा देशलाई मैदानमा उतारेको थियो। तर अहिले तीमध्ये  एउटा मात्र टोली बाँकी छ, र त्यो पनि यो महादेशको भूगोलभित्र पर्दैन। विश्वकपको टोली संख्या बढाएपछिको नयाँ संरचनामा एसियाको यो अहिलेसम्मकै सबैभन्दा कमजोर नकआउट उपस्थिति हो।

यसपटकका तथ्याङ्कहरू निकै लज्जास्पद र बिझाउने खालका छन्। इराकले १२ गोल खायो र जम्मा १ गोल मात्र फर्काउन सक्यो। उज्बेकिस्तानले ११ गोल खायो र जम्मा २ गोल गर्‍यो। कतारले १० गोल खायो र जम्मा २ गोल गर्‍यो। जोर्डनले ८ गोल खायो र ३ गोल फर्कायो। साउदी अरबले ५ गोल खायो र १ गोल गर्‍यो। दक्षिण कोरियाले २ गोल गर्‍यो र ३ गोल खायो। यी सात टोलीमध्ये पराजित नभएको एकमात्र टोली इरानले ३ गोल गर्‍यो र ३ गोल नै खायो।

बाहिरिएका यी सातवटा एसियाली टोलीले संयुक्त रूपमा जम्मा १ खेल मात्र जिते, ६ खेल बराबरी खेले र १४ खेलमा हार ब्यहोरे। उनीहरूले जम्मा १४ गोल गर्दा ५२ गोल खाएका छन्। चारवटा टोलीले १ अङ्क वा त्योभन्दा कम मात्र जोड्न सके भने तीनवटा टोलीले त खाता समेत खोल्न सकेनन् (शून्य अङ्क)।

लगातार दुई पटकको एसियाली च्याम्पियन कतारले स्विट्जरल्यान्डसँग बराबरी खेल्दै जम्मा १ अङ्क मात्र जोड्यो। उज्बेकिस्तान, जोर्डन र इराक भने रित्तो हात घर फर्किए। “एसियाली फुटबलको स्तर उठ्दैछ” भनेर जति गफ हाँकिए पनि, विश्वकपको यो विस्तारित स्वरूप एसियाका लागि आफ्नो क्षमता देखाउने सुनौलो मौका हुनुपर्ने थियो। तर, यसले एसियाली फुटबलको असली रूप देखाइदिएको छ, ‘कोटा बढेर के गर्नु, टोलीहरूको खेलको स्तर भने सोचेजस्तो बढेको रहेनछ।’

आशाको एउटा भ्रम

प्रतियोगिताको पहिलो चरणका खेलहरूले केही आशा जगाएका थिए। दक्षिण कोरियाले चेक गणतन्त्रलाई हरायो। जापानले नेदरल्यान्ड्सलाई रोक्यो। साउदी अरबले उरुग्वेसँग र इरानले बेल्जियम तथा इजिप्टसँग बराबरी खेले। त्यतिबेला लागेको थियो- एसियाली फुटबलले साँच्चै ठुलो फड्को मारेछ। तर जब प्रतियोगिता लयमा फर्कियो, विश्वका हस्ती टोलीहरूले आफ्नो वास्तविक रूप देखाए। त्यसपछि एसियाली टोलीहरू एक-एक गर्दै बाहिरिन थाले।

दक्षिण कोरिया आफ्नो समूहमा तेस्रो स्थानमा खुम्चियो। चेक गणतन्त्रलाई हराएपछि उनीहरू मेक्सिकोपछि दोस्रो हुँदै अगाडि बढ्ने बलियो स्थितिमा थिए। तर दक्षिण अफ्रिकासँगको १-० को हार उनीहरूका लागि घातक बन्यो र खराब तेस्रो टोली बन्दै उनीहरू बाहिरिए। यसको असर तत्कालै देखियो। कोरियाली प्रशिक्षक होङ म्युङ-बोले देशवासीसँग माफी माग्दै राजीनामा दिए। उनले भने, “कोरियाली फुटबललाई माया गर्ने र सधैँ समर्थन गर्ने नागरिकहरूसँग म साँचो मनले क्षमाप्रार्थी छु। जनताले राखेको अपेक्षा पूरा गर्न म असफल रहेँ। यसको सम्पूर्ण जिम्मेवारी म एक्लै लिन्छु।”

सन् २०२२ को विश्वकपमा अर्जेन्टिनालाई हराएर सनसनी मच्चाएको साउदी अरबले यसपालि त्यो जादु देखाउन सकेन र जम्मा २ अङ्कमा चित्त बुझायो। अप्रिल महिनामा हर्भे रेनार्डलाई हटाएर जर्जियोस डोनिसलाई प्रशिक्षक बनाउने साउदीको निर्णय पूर्ण रूपमा असफल साबित भयो।

कतारको लुसेलस्थित लुसेल स्टेडियममा अर्जेन्टिनाका लियोनेल मेस्सी, नोभेम्बर २२। तस्बीर सौजन्य: रोयटर्स

इरानको आँसु र जापानको पुरानै पीडा

कुनै पनि खेल नहारी तीनवटा बराबरी खेलेको इरान गोल अन्तरका कारण निकै निर्दयी रूपमा बाहिरिनु पर्‍यो। समूह चरणको अन्तिम खेलको अन्तिम सेकेन्डमा अस्ट्रियाले अल्जेरियाविरुद्ध गोल गरेर बराबरी गरेपछि इरानको अगाडि बढ्ने सपना चकनाचुर भयो। इजिप्टविरुद्धको खेलको थप गरिएको समयमा इरानले हानेको विजयी गोललाई ‘अफसाइड’ भन्दै खारेज गरिएको थियो। कप्तान मेहदी तारेमीले यो विश्वकपलाई आफ्नो टोलीका लागि “विपत्ति” भनेका छन्।

त्यस्तै, प्रशिक्षक अमिर घालेनोईले भिसाको झमेलाका कारण आफ्नो टोलीले मेक्सिकोमा बेस क्याम्प राख्नुपरेको दुखेसो पोख्दै इरान यस विश्वकपमा “सबैभन्दा बढी अन्यायमा परेको” टोली भएको बताए। खेलेर बाहिरिएपछि इरानी टोलीले आफ्नो ड्रेसिङ रुममा एउटा हातले लेखेको भावुक नोट छोडेको थियो, जसमा लेखिएको थियो: “हजारौँ वर्ष पुरानो प्राचीन पर्सियादेखि आजको सभ्य इरानसम्म, इरानको पहिचान र स्वाभिमान सधैँ जीवन्त र अटल रहनेछ। हामी लस एन्जलसमा गर्वका साथ आयौँ, सम्मानका साथ खेल्यौँ र इज्जतका साथ फर्किँदैछयौँ। संसारका सबै देशहरूबीच शान्ति, सम्मान र मित्रता कायम रहोस्।”

अर्कोतर्फ, एसियाको एकमात्र वास्तविक हेभीवेट टोली जापान फेरि एकपटक हृदयविदारक ढंगले बाहिरियो। ब्राजिलविरुद्धको खेलमा ५६औँ मिनेटसम्म १-० को अग्रता लिएको जापानले अन्तिममा खेल सकिनै लाग्दा खाएको गोलका कारण २-१ को हार ब्यहोर्नु पर्‍यो।

Japan's goal-scorer Kaishu Sano reacts after the World Cup round of 32 match between Brazil and Japan in Houston
ब्राजिल र जापानबीच ह्युस्टनमा भएको विश्वकपको ‘राउन्ड अफ ३२’ को खेलपछि जापानका गोलकर्ता काइशु | तस्बिर सौजन्य: एपी

जापानको लागि यो कथा पुरानै हो। २०१८ मा बेल्जियमविरुद्ध २-० को अग्रता उल्टाएर जापान खेलको अन्तिम समयमै हारेको थियो। २०२२ मा क्रोएसियासँग पेनाल्टीमा चुक्यो। तीनवटा विश्वकप, तीनै पटक नकआउटमा पुगेर विष्फोटक बहिर्गमन। जापानको यो दु:खद इतिहास यसपालि पनि बदलिएन।

अफ्रिकासँगको तुलना

एसियाको यो हविगत भइरहँदा अफ्रिकी महादेशको प्रदर्शन भने लोभलाग्दो रह्यो। अफ्रिकाबाट १० वटा टोलीले भाग लिएका थिए, जसमध्ये ९ वटा टोली नकआउट चरणमा पुगे। अर्थात् ९० प्रतिशत सफलता! नकआउट पुग्ने इतिहासकै सबैभन्दा सानो देश ‘केप भर्डे’ले साउदी अरबलाई बराबरीमा रोक्दै मृत्युको समूह (Group of Death) बाट दोस्रो स्थान बनाएर अगाडि बढ्यो।

५२ वर्षपछि विश्वकप खेलिरहेको प्रजातान्त्रिक गणतन्त्र कङ्गोले पनि अघिल्लो चरणको यात्रा तय गर्‍यो। उनीहरूसँगै मोरक्को, आइभोरी कोस्ट, सेनेगल, घाना, अल्जेरिया र इजिप्ट सबैले नकआउटमा ठाउँ बनाए।

यस विषयमा जोर्डनका प्रशिक्षक जमाल सेलामीले एउटा महत्त्वपूर्ण कुरा भनेका छन्, “यदि जोर्डनको फुटबलले भविष्यमा राम्रो नतिजा निकाल्ने हो भने हाम्रा खेलाडीहरू विश्वका अझ बढी प्रतिस्पर्धी र बलिया लिगहरूमा खेल्नुपर्छ।”

अफ्रिकाको सफलताले पनि यही कुरा पुष्टि गर्छ। अफ्रिकाका अधिकांश खेलाडीहरू युरोपका शीर्ष लिगहरूमा छरिएका छन्, जबकि एसियाका उत्कृष्ट भनिने खेलाडीहरू अझै पनि आफ्नै घरेलु लिगमै सीमित छन्।

समीक्षा र प्रश्नहरू

विश्वकपबाट लज्जास्पद बहिर्गमन भएपछि एसियाली देशहरूमा उथलपुथल सुरु भइसकेको छ। साउदी अरबका फुटबल महासङ्घका अध्यक्ष यासेर अल-मिसेहलले पदबाट राजीनामा दिइसकेका छन्।

Saudi Arabian Football Federation chief Yasser Al-Misehal resigns after World Cup group-stage exit
साउदी अरब फुटबल महासङ्घको सञ्चालक समितिका भर्खरै राजीनामा दिएका अध्यक्ष यासेर अल-मिसेहल। (एसपिए फाइल तस्बिर)

दक्षिण कोरियाका राष्ट्रपतिले राष्ट्रिय फुटबल टोलीको कार्यक्रममाथि पूर्ण पुनरावलोकन गर्न आदेश दिएका छन्। इराकले आफ्नो एउटै खेल पनि जित्न नसकेको अभियानबारे आधिकारिक छानबिन सुरु गरेको छ।

उज्बेकिस्तानका प्रशिक्षक फाबियो कानाभारोले सिधा र कडा टिप्पणी गर्दै भनेका छन्, “हामीले सुधार गर्नुपर्ने ठाउँ भनेको समग्र एसियाली फुटबल नै हो। जापान, अस्ट्रेलिया र सायद इरानबाहेक… एसियाको हरेक टोलीले आफ्नो खेल सुधार्न आवश्यक छ।”

Soccer Football - FIFA World Cup 2026 - Group K - DR Congo v Uzbekistan - Atlanta Stadium, Atlanta, Georgia, US - June 27, 2026 Uzbekistan coach Fabio Cannavaro reacts IMAGN IMAGES via Reuters/Scott Kinser
प्रजातान्त्रिक गणतन्त्र कङ्गो विरुद्ध उज्बेकिस्तान – एटलान्टा स्टेडियम, एटलान्टा, जर्जिया, अमेरिका – जुन २७, २०२६ उज्बेकिस्तानका प्रशिक्षक फाबियो कानाभारो प्रतिक्रिया दिँदै | रोयटर्स/स्कट किन्सर मार्फत इमेजन इमेजेज

अबको बाटो के?

विश्वकप सुरु हुनुअघि एसियाली फुटबल महासङ्घका अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफाले एसियाली टोलीहरूलाई “उत्तर अमेरिकाको यो ऐतिहासिक अवसरको फाइदा उठाउँदै एसिया बाहिर नयाँ र कीर्तिमानी इतिहास रच्न” आग्रह गरेका थिए। तर, टोलीहरूले इतिहास त रचे; तर हार र निराशाको!

अध्यक्ष सलमानले पनि यो असफलतालाई स्विकार्दै भनेका छन्, “हाम्रा दुईवटा प्रतिनिधि मात्र अगाडि बढ्नुले विश्व फुटबलको प्रतिस्पर्धा कति उच्च छ भन्ने देखाउँछ। हाम्रा टोलीहरूले कडा मिहिनेत र खेल भावना त देखाए, तर विश्वका शीर्ष टोली र हामीबीचको दूरी अझै ठुलो छ। यो दूरी मेटाउन हामीले अझै धेरै काम गर्नुपर्छ।”

तर, दशकौँदेखि “कडा मिहिनेत” गरिरहेको दाबी गर्ने एसियाली फुटबल महासङ्घको यो सुस्त प्रगति साँच्चै निराशाजनक छ।

दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले आफ्नै टोलीको कडा आलोचना गरेका छन्। त्यहाँको चर्चित अखबार ‘चोसुन’ले यो विश्वकप अभियानलाई “निराशाजनक र शर्मनाक नतिजा” भनेको छ।

दक्षिण कोरियाली टोली स्वदेश फर्किँदा इन्चोन विमानस्थलमा एक आक्रोशित प्रशंसकले बोकेको ब्यानरमा लेखिएको वाक्यले समग्र एसियाली फुटबलकै पीडा बोल्छ। त्यहाँ लेखिएको थियो- “दक्षिण कोरियाली फुटबल अब मरिसक्यो।”

World Cup Hong Myung-bo South Korea
इन्चोन विमानस्थलमा दक्षिण कोरियाको विश्वकप टोलीलाई पर्खने क्रममा एक समर्थक होङ म्युङ-बो र केएफए (कोरिया फुटबल एशोसिएशन) को आलोचना गरिएको ब्यानर बोक्दै। (एएफपी तस्बिर)

जबसम्म एसियाले समूह चरणभन्दा माथि उठेर विश्वका ठुला टोलीहरूसँग लगातार भिड्न सक्ने टोली उत्पादन गर्न सक्दैन, तबसम्म विश्वकपका तथ्याङ्कहरूले यही एउटै कथा दोहोर्‍याइरहनेछन्: ९ टोली, १ उत्तराधिकारी र अनुत्तरित प्रश्नहरूको चाङ!


डन (Dawn) अखबारमा प्रकाशित यस विश्लेषणलाई दियोपोष्टका लागि राजु झल्लु प्रसादले अनुवाद गरेका हुन्।

सिफारिस