गरिमा चौधरीको न्यायको लागि आज पनि माइतीघर मण्डलमा प्रदर्शन

दियोपोस्ट संवाददाता

काठमाडौँ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ ।

आइतबार युवाहरुले प्रदर्शन गर्दै पीडित परिवारलाई तत्काल न्याय दिन र दोषीलाई कडाभन्दा कडा सजायको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

हातमा विभिन्न नारा लेखिएका प्लाकार्ड र ब्यानर बोकेर माइतीघर पुगेका प्रदर्शनकारीहरूले बलात्कार र हत्या जस्ता जघन्य अपराधविरुद्ध कडा कानुन निर्माण गर्नुपर्ने र अपराधीहरूलाई फाँसीको सजाय दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।

युवाहरुले पछिल्लो समय महिला तथा बालबालिकामाथि हुने यस्ता जघन्य अपराधका घटना बढ्दै गएको र कानुनी प्रक्रिया फितलो हुँदा अपराधीहरूले उन्मुक्ति पाउने वातावरण बनेको भन्दै आक्रोश व्यक्त गरे ।

उनीहरुले सरकार र पीडित गरिमा चौधरीको परिवार बिच भएको सम्झौता उल्लेख गर्दै घटना घटिसकेपछि राज्यले पीडित परिवारसँग सम्झौता गर्ने मात्र नभएर गरिमा जस्ता बलात्कार भएर आफ्नो ज्यान गुमाउनुपर्ने छोरीहरुको न्यायको लागि कडा कानुन ल्याउनुपर्ने माग गरेका छन् ।