मार्वलस, भ्याली पब्लिक र एन्जल्स हार्टलाई ग्रिनफिल्ड कपको उपाधि

दियोपोस्ट संवाददाता

काठमाडौँ । मार्वलस, भ्याली पब्लिक र एन्जल्स हार्टले १३औँ ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार सम्पन्न प्रतियोगितामा मार्वलसले सिनियर ब्वाइज, भ्याली पब्लिकले सिनियर गल्र्स तथा एन्जल्स हार्टले जुनियर ब्वाइजतर्फ च्याम्पियन बनेका हुन् ।

बाफलस्थित आयोजक ग्रिनफिल्डको कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा मार्वलसले रेडियन्ट पब्लिकलाई ६३-५८ अंकले पराजित गर्‍यो । मार्वलसको जितमा सिनेप शाहीले १८ अंकको योगदान दिए ।

सिनियर गल्र्सको फाइनलमा भ्याली पब्लिकले रेडियन्ट पब्लिकलाई ३९-१४ अंकको फराकिलो अन्तरले हराउँदै उपाधि हात पार्‍यो । भ्यालीको जितमा दृष्य गुरुङले सर्वाधिक १९ अंक जोडिन् ।

जुनियर ब्वाइजको फाइनलमा एन्जल्स हार्टले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ३५-२० अंकले पराजित गर्‍यो । एन्जल्स हार्टका सौरव श्रेष्ठ र अविरल सापकोटाले समान १४-१४ अंक बनाए ।

सिनियर ब्वाइजमा मार्वलसका रोशन कुश्वा, सिनियर गल्र्समा भ्याली पब्लिककी सपना गिरी तथा जुनियर ब्वाइजमा एन्जल्स हार्टका सौरव श्रेष्ठ ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए । यस्तै, सिनियर ब्वाइजतर्फ रेडियन्ट पब्लिकका मदन बस्नेत, सिनियर गल्र्समा रेडियन्टकै प्रीतिका रसाइली र जुनियर ब्वाइजमा इबीएका प्रसुन श्रेष्ठ प्रतियोगिताका सर्वाधिक स्कोरकर्ता बने ।

सिनियर ब्वाइजमा सम्पदा, सिनियर गल्र्समा आर्या एकेडेमी तथा जुनियर ब्वाइजमा तेजस्वी एकेडेमीले अनुशासित टिमको ट्रफी प्राप्त गरे । विजेता तथा उत्कृष्ट खेलाडीलाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, प्रा.डा. रामकृष्ण महर्जन, ग्रिनफिल्डका कार्यकारी निर्देशक राजुराम अधिकारी र निर्देशक अर्जुन अधिकारीलगायतले एक समारोहबीच पुरस्कृत गरे ।

सोही अवसरमा ग्रिनफिल्डमा लगातार १५ वर्षदेखि बास्केटबल प्रशिक्षकका रूपमा कार्यरत रमेश लामालाई योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

साउन २३ गतेदेखि सुरु भएको प्रतियोगिताको सिनियर ब्वाइजतर्फ ३० तथा सिनियर गल्र्स र जुनियर ब्वाइजतर्फ समान १६-१६ टोलीले लिग कम नकआउट प्रणालीमा प्रतिस्पर्धा गरेका थिए ।