जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन सरकारको आग्रह

दियोपोस्ट संवाददाता

काठमाडौँ । सरकारले नेपालमा जापानिज इन्सेफलाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको संख्या बढ्दै गएपछि रोगको जोखिमप्रति सतर्क रहन सबैमा अनुरोध गरेको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाले लामखुट्टेको टोकाइबाट सर्ने जेईबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो।

महाशाखाका अनुसार उच्च ज्वरो आउने, टाउको दुख्ने, बेहोस हुने, झट्का आउने वा चेतनामा परिवर्तन हुनेजस्ता लक्षण देखिएमा घरेलु उपचार गरेर समय खेर नफाल्न र तत्काल नजिकको स्वास्थ्य संस्थामा लैजान अनुरोध गरिएको छ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको पछिल्लो प्रतिवेदनअनुसार देशका २५ जिल्लाका ५९ स्थानीय तहमा ८० जना प्रयोगशाला परीक्षणबाट जेई संक्रमित पुष्टि भएका छन् । संक्रमितमध्ये ८६ प्रतिशतले जोईविरुद्धको खोप नलगाएको पाइएको छ।

हालसम्म जेई संक्रमणबाट २१ जनाको मृत्यु भएको छ । मृत्यु भएका सबैले जोईविरुद्धको खोप नलगाएको पाइएको महाशाखाले जनाएको छ।

जिल्लागत रूपमा सबैभन्दा धेरै संक्रमित झापामा १० जना छन् । त्यसपछि कैलाली र मोरङमा ७-७ जना, सप्तरी र कञ्चनपुरमा ६-६ जना तथा चितवन, सुनसरी र नवलपरासी पूर्वमा ५-५ जना संक्रमित पुष्टि भएका छन्।

जेईका संक्रमित मुख्यतः तराई तथा भित्री मधेसका जिल्लामा देखिए पनि इलाम, काभ्रेपलाञ्चोक, काठमाडौँ, सिन्धुली र सुर्खेतलगायत पहाडी जिल्लामा समेत संक्रमण पुष्टि भएको छ।

मृत्युको दृष्टिले झापा सबैभन्दा प्रभावित जिल्ला देखिएको छ । झापामा पुष्टि भएका १० संक्रमितमध्ये ६ जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ।

सरकारले जेईबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिन, व्यक्तिगत तथा घर वरपरको सरसफाइमा ध्यान दिन र बालबालिकालाई जोईविरुद्धको खोप लगाउन आग्रह गरेको छ।