काठमाडौंं, असार ३ । अमेरिकी कलाकार तथा फेसन आइकन ग्लोरिया भ्यान्डरविल्टको निधन भएको छ । आमाशयको क्यान्सरका कारण उनको ९५ वर्षको उमेरमा घरमै निधन भएको हो ।
निधनका बेला परिवारका सदस्य साथमै रहेको उनका छोरा एन्डर्सन कुपरले बताएका छन् । एन्डर्सन कपुर अमेरिकाका चर्चित पत्रकार हुन्, जो सिएनएनमा कार्यरत छन् ।
उनले सन् १९७० र ८० को दशकमा डिजाइनर जिन्सलाई स्थापित गरेकी थिइन् । उनी आफ्नो परिवारको सम्पत्तीको स्वामित्वको विषयलाई लिएर सानैदेखि चर्चामा थिइन् । उनी १९ औँ शताब्दीका अति धनाड्या परिवारकी सदस्य हुन् ।
आफ्नी आमा सर्वोत्कृष्ट महिला रहेको र उनले जीवनलाई प्रेम गरेको छोरा एन्डर्सन कुपरले जारी गरेको वक्तव्यमा उल्लेख गरेका छन् । ग्लोरियाले आफ्नै शर्तमा जीवन बाँचेको कुपरले बताएका छन् ।