एकाविहानै जनकपुरमा ९ सिलिण्डर विस्फोट, तीन होटल जले

दियोपोस्ट संवाददाता

काठमाडौँ, असार ५ । धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा विहीबार विहानै धमाकेदार सिलिण्डर विस्फोट भएको छ । जनपुरधामको पदम चोकको गोविन्द मिष्ठान्न भण्डारमा आगलागी भएपछि ९ सिलिण्डर विस्फोट भएका हुन् ।

विस्फोटबाट तीनवटा होटलमा पुर्ण रुपमा क्षति भएको छ । गोविन्द मिष्ठान्न भण्डारमा आगलागी भएपछि संगै भएका अन्य दुई वटा होटलमा पनि जलेको हो । बिहीबार विहान पौने ३ बजेतिर घटना भएको भएतापनी प्रहरी र दमकल केही समय ढिला घटनास्थल पुगेका हुन् ।

फ्रिजको तार सर्ट भई आगलागी भएको र सोही आगलागीबाट पसलमै राखिएको सिलिण्डर विस्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आगलागी भएपछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयहरु उद्धारमा जुटेका थिए । धनुषा उपमहानगरपालिकाका दुई वटा र महेन्द्रनगरको एउटा दमकलको सहयोगमा बिहीबार बिहान करिब ५ बजे आगो नियन्त्रणमा आएको खनालले बताए ।

३० लाख भन्दा बढीको क्षति भएको भनिएपनि पुर्ण क्षतिको यकिन विवरण आएको छैन । आगलागीको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस