गुठीयारहरुको भव्य र सभ्य आन्दोलनः एम्वुलेन्सलाई बाटो र प्रहरीलाई खानेपानी देखि फोहोर उठाउनेसम्म !

दियोपोस्ट संवाददाता

काठमाडौँ, असार ५ । सरकारले गुठी विधेयक फिर्ता लिएपनि गुठीयारहरु भने विधेयकको खारेज नै गर्नुपर्छ भन्दै आन्दोलनमा उत्रिए । बुधबार दिउँसो राजधानीको माइतीघरमा विशाल जनसागर देखियो । सरकारलाई खबरदारी गर्नका निम्ति काठमाडौँ उपत्यकाका गुठीयारहरु शान्तिपुर्ण आन्दोलनमा उत्रिएका थिए ।

निकै ठुलौ संख्यामा आन्दोलनकारी हरु सडकमा उत्रिएका थिए । तर, कुनैपनि किसिमको अभद्रता र हुलदंगा भने मच्चिएन । शान्तिपुर्ण ढंगबाट ब्यानर झुण्डाउदै, नारावाजी गर्दै सरकारलाई खबरदारी गरे । आन्दोलमा युवाहरु प्रशस्त संख्यामा थिए । जोशीला देखिन्थे, आवाज पनि जोशका साथ उठाइरहेका थिए । चर्को घामको बेवास्ता गर्दै आफ्ना मागहरु सरकारसम्म पुर्याउनका लागि चिच्याइरहेका थिए, युवादेखी वृद्धसम्म्का मानिसहरु ।

एकैछिनमा एउटा एम्वुलेन्स आयो । आन्दोलनमा सहभागी भएका सबैजना एम्वुलेन्सलाई बाटो छोड्न बिचमा स्पेस बनाएर सडकको दुइतिर फैलिएर बसे । हजारौँ आन्दोलनकारीहरुको बिचबाट पनि एम्बुलेन्स सहज ढंगले पार गर्यो ।

सामाजिक संजालबाट

एकसाताअघि प्रहरीले माइतीघरमा शान्तिपुर्ण तबरले आन्दोलन गरिरहेका गुठीयारहरुमाथि पानीको फोहोरा बर्साएको थियो । लाठीचार्जमा केहीको टाउको समेत फुटेको तस्वीरहरु सामाजिक संजालमा भाइरल भएको थियो । तर बुधबारको आन्दोलनमा तिनै प्रहरीहरुलाई गुठीयारहरुले रंगीबिरंगी फुल दिएर सम्मान गरे । गायक तथा संगितकार योगेश्वर अमात्यले एक प्रहरी अधिकारीलाई फुल दिएको तस्वीर सामाजिक संजालमा निकै लोकप्रिय बनिरहेको छ । त्यस्तै आन्दोलनकारीहरुले चर्को घाममा सडकको पेटीमा हतियार लिएर बसिरहेका प्रहरी जवानहरुलाई चिसो पानीसमेत पिलाए ।

सामाजिक संजालबाट

अन्य आन्दोलन भन्दा गुठीयारहरुको आन्दोलनमा केही नौला र अचम्म लाग्दा दृश्यहरु देखिए । हजारौँ मानिसहरु विभिन्न स्थानहरुबाट उपस्थित भएका थिए । निकै ठुलो संख्याका मानिसहरु भएका कारण सडकमा पानी खाएर बोतल फालिएका थिए, विभिन्न किसिमका प्लास्टिकहरु सडकभरि थिए । प्रदर्शन सकिएपछि सबै जना मिलेर सडकमा यत्रतत्र फैलिएका फोहोर उठाए । आफुहरुले पानी खाएर फालेको बोत्तल उठाए र एक निश्चित ठाउँमा राखे ।

गुठीयारहरुको आन्दोलन भव्य रुपले सफल त भयो नै तर आन्दोलनले सभ्यताको परिचय समेत दिएको छ । संचार माध्यम र सामाजिक संजालहरुमा गुठी आन्दोलनले मानिसहरुलाई सभ्यता समेत सिकाएको भन्दै चौतर्फी चर्चा भइरहेको छ । गुठीयारहरुबाट सभ्यता सिक्न समेत आह्वान गरिएको छ