काठमाडौं, ६ जेठ । पत्रकार दिनेश बस्नेत यतिबेला गम्भिर घाइते छन् । भक्तपुरको लोकन्थलीमा टोले गुण्डाले हप्ता असुली गरिरहेको सुचनाको फलो गर्दै रिपोर्टिङ गर्न पुगेका सल्लेरी खबरका पत्रकार बस्नेतमाथि टोले गुण्डाहरुकै समुहले साङघातिक हमला गरेपछि उनी यतिबेला राजधानीको माइतिघर स्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत छन् । के प्रश्न गरेकै कारण उनीमाथि हमला भएको हो ? घटनाको वास्तविकता के थियो ? बस्नेतले आफूमाथि भएको घटनाको विवरण दियोपोस्ट डटकमसँग यसरी सुनाए :
लोकन्थलीमा रहेको सिद्धार्थ पेट्रोल पम्पबाट केही पर मनोहरा खोला किनारमा एक बस्ती छ । सो बस्तीमा एउटा समुहले गुण्डागर्दी गर्ने, हप्ता उठाउने, तर्साउने र धम्काउने गर्दो रहेछ । विहीबार विहान दु्ई जना व्यापारीबिच सामान्य विवाद परेको रहेछ । गुण्डाहरु ल्याएर तर्साउने, पिट्ने र धम्की दिने कामहरु भइरहेको रहेछ । त्यहीको एकजना स्थानिय दाईले सुचना दिनुभएको थियो । उनले मलाई ६–७ महिनाअघि देखि नै भन्दै आएका थिए । हिजो (विहिबार) चाहीँ आजित भएर उहाँले मलाई एकचोटी आएर अडियो या भिडियो खिचिदिन आग्रह गरे ।
म बिहान साढे ८ बजेतिर पुगेको थिएँ । सामान्य कपडामा पत्रकार परिचय पत्र पनि नलिई गएको थिए । घटनास्थल पुगेपछि पिडितसंग कुरा गरेँ । उहाँले आफुलाई मार्ने र काट्ने धम्कि दिएको भन्दै गुनासो व्यक्त गर्नुभयो । पिडित बसको सर्भिस सेन्टर चलाउँनुहुँदो रहेछ । सर्भिस सेन्टर नजिकै संजय वासिङ सेन्टर छ । जहाँ कार वासिङ हुँदो रहेछ । आफ्नो ग्राहकको विषयमा सामान्य विवाद भएपछि छलफल नगरि सिधै टोेले गुण्डाहरु ल्याएर डराउने, धम्क्याउने गर्नुभएछ ।
म त्यत्तिकै बसिरहेको थिएँ । आधा घण्टापछि शैलेस श्रेष्ठ, संजय लामा लगायत अन्य पाँच सात जना गाडीमा आए । ग्यारेजमा गएर तीन चार जनाले समाउने र तीन चार जनाले हान्ने भन्ने योजनाका साथ आउनुभएको रहेछ । त्यहाँ अन्य मानिसहरुको पनि बाक्लो उपस्थिती भएको कारण उनीहरुको योजना अनुसार हुन पाएन ।
वासिङ सेन्टरका दाईहरु बाहिर निस्के । त्यसपछि उहाँलाई मैले ‘के भइरहेको हो ? ’ भनेर सोधेँ । शैलेश श्रेष्ठका मानिसहरुले मेरो आमालाई छोएर अपशब्द सहित ‘तँलाई किन चाहियो तँ को होस् ?’ भनेर निकै उत्तेजित शैलीमा कुरा गर्न थाले । हुलदंगामा विवेकले काम लिनुपर्छ भन्दै मैले उनीहरुसंग विवाद गर्न चाहिँन । केही बेर शान्त बस्ने निधो गरेर भिडबाट केही पर जान खोज्दै थिएँ, एक्कासी पछाडीबाट ममाथि प्रहार भयो । रड थियो, अथवा कुनै फलाम या काठको गह्रौँ हतियार थियो मैले ठ्याक्कै याद गर्न सकिँन । मेरो टाउको बाट रगत बग्न थाल्यो ।
आक्रमण गर्नेले पुन प्रहारको लागि ढुंगा उचालिरहेको थियो तर मेरो टाउको बाट रगत बगेको देखेपछि पछाडी हट्यो । मैले तत्काल प्रहरीलाई फोन गरेँ । केही समयमै प्रहरीहरु आए । केही संख्यामा आएका प्रहरीमाथि नै टोले गुण्डाहरु जाइलाग्न थाले । एकजना हवलदार पनि हुनुहुँदो रहेछ उहाँलाई पनि अपशब्द प्रयोग गर्दै गाली दिए । मसंग त्यसको रेकर्ड पनि छ । प्रहरी आएको नआएको कुनै फरक थिएन । केही समयपछि इन्सपेक्टर पनि आउनुभयो । इन्पेक्टरलाई पनि ती गुण्डाहरुले टेरेनन् । मेरो टाउको बाट निस्केको रगतले कपडा राताम्मै भएको थियो । शैलेस श्रेष्ठको समुहले उक्त रगत पखाल्नको लागि दबाव दिए तर मैले मानिँन ।
ममाथि प्रहार हुन थालेपछि मैले आफु पत्रकार भएको र ‘समाचार संकलनको लागि आएको हुँ भने’ त्यसपछि शैलेस श्रेष्ठले ‘तँ जोसुकै भएपनि मलाई केही फरक पर्दैन’ भन्दै ‘पुलिसकै अगाडी हातखुट्टा भाँच्न सकिन भने मेरो नाम शैलेस होइन’ भन्दै धम्काए ।
प्रहरीसंग पनि वादविवाद गरिरहेका थिए । एकजना हवलदारको त नामै किटेर अपशब्द प्रयोग गरेका थिए । त्यसबिचमा एकजना सई पनि आएका थिए । मलाई प्राथमिक उपचार गर्नुको सट्टा ती सईले ‘शैलेस दाई ’ भन्दै नमस्कार गर्दै गए । उनले शैलेसको गाडीमा उपचारको लागि जान दबाव दिए । मैले मनाही गर्दै प्रहरीकै गाडीमा जाने अभिव्यक्ति दिएँ । सिभिलमा आएको हुनाले ती प्रहरी अधिकारीको नाम थाहा पाउन सकिँन । हवलदारको नाम चाहीँ रामनारायण थियो ।
रक्तश्राव भएको एक घण्टापछि मलाई लोकन्थलीको समिट अस्पताल पुर्याइयो । प्रहरीले पनि आफ्नो अधिकार हुँदाहुँदै केही गरेन । शैलेसले प्रहरीको माथिल्लो निकायमा सम्पर्क नगर्न पनि त्यहाँ उपस्थित भएका प्रहरीहरुलाई भनिरहेका थिए ।
अस्पताल पुगेर उपचार गर्दैगर्दा पनि धम्किपुर्ण ढंगले कुरा गर्दै थिए । ‘यसलाई त यति मात्र टाँका लगाइएछ टाउको पुरै फुट्न पर्ने ’ भन्दै कुरा गरिरहेका थिए । उपचार गर्दै गर्दा तीनै शैलेस थापाले मलाई हेर्दै ‘मलाई चिनिस् होला नि अब, देखिस्’ भने । अस्पतालमा पनि डाक्टरलाई दबाव दिँदै छिटो उपचार गरेर डिस्चार्ज गर्न भनिरहेका थिए । ‘बरु म तपाईँको अस्पतालको खातामा २ लाख हालिदिन्छु तर छिटो डिस्चार्ज गर्नुस’ भन्दै डाक्टरहरुलाई प्रेसर दिइरहेका थिए ।
म त्यहाँ कुनै पक्षलाई समर्थन गर्न गएको थिइनँ । संजयलाई पनि राम्ररी चिन्दथे र सर्भिस सेन्टरको संचालकसंग पनि राम्रै सम्वन्ध थियो । विहीबारको घटना पनि खाशै ठुलो होइन रहेछ । उहाँहरुको व्यवसायिक विवाद रहेछ । छलफल नै गरेर जान सकिने सामान्य विवाद रहेछ । तर उनिहरुले चाहीँ सिधै मान्छलाई काट्छु र मार्छु मात्रै भन्ने ढंगका कुराहरु गर्नुभयो ।
अस्पतालमा पुगिसकेपछि पनि शैलेस श्रेष्ठले डाक्टरहरुलाई तनाव दिने, दबाव दिने गरिरहेका थिए । ‘मलाई गाह्रो भइसक्यो छिटो डिस्चार्ज गरेर केस मिलाउनु बरु तपाइँलाइ नै पैसा दिन्छु’ भन्दै खुलेआम रुपमा डक्टरहरुलाई दबाव र प्रलोभन देखाइरहेका थिए । ‘मेरो केटाहरुलाई पुलिसले लगेको छ म छिट्टै बाहिर जान पर्यो ’ भन्दै धम्काइहेका थिए ।
पछि २/४ जना अन्य मानिसहरु पनि आए । मलाई कन्भिन्स गर्न खोज्दै हुनुहुन्थ्यो, म कन्भिन्स भइनँ । ‘मेडिकल रिपोर्टले म फिट भएको बतायो भने म जान तयार छु’ , मैले उनिहरुलाई भनेको थिएँ, ‘मैले तपाईहरुलाई फसाउन खोजेको होइन, तपाइँहरुले उपचार नगरेपनि म आफै उपचार गर्छु ।’ उनिहरुले अनेक तिकडम रचेका थिए तर मैले मानिँन ।
मैले नमानिसकेपछि उनिहरु अस्पताला प्रशासनलाई धम्काउने, अनुरोध गर्ने गर्न थाले । समिट अस्पताल आफ्नो नजिकैको मानिसको भएको बताउने, कहिले अस्पताल नै किन्दिन्छु भन्ने यतिसम्म कि उनिहरुले स्थानिय कथित डनहरुको नाम लिँदै ‘अब अरु दाईहरुलाई बोलाउँछु, यहाँ जे पनि हुनसक्छ’ भन्दै त्रास देखाएका थिए । मैले उहाँहरुसंग क्षतिपुर्ती अथवा उपचार खर्च पनि मागेको छैन । अहिलेसम्म आफैले ब्यहोरिरहेको छु ।
टाँका लगाउँदै गर्दा उहाँहरुले धम्की दिइरहेका थिए । त्यसपछि म निदाए, अरु के भयो थाहा पाइनँ । एकैपटक साँझ बिउँझे, साँझसम्म पनि उहाँहरु अस्पताल वरपर नै हुनुहुँदो रहेछ । केश मिलाउने सोँचमै हुनुहुन्थ्यो उहाँहरु । डक्टरले २४ घण्टा अब्जरभेसनमा राखेर मात्र डिस्चार्ज गर्न मिल्ने बताएपछि म गइँन ।
अहिले ठिमिमा एकजनालाई हिरासतमा राखिएको छ । उनको नाम मलाई थाहा भएन तर उनि शैलेसका भाञ्जा हुन् भन्ने थाहा पाएको थिएँ । उनि शैलेस श्रेष्ठ चढ्ने नीजि गाडीका चालक समेत हुन् । उनैले ममाथि प्रहार गरेका थिए । उनले ममाथि प्रहार गरेको स्वीकार समेत गरेका छन् । अहिले पनि मलाई धम्काउँदै ‘तँलाई जहाँ भेट्यो त्यहीँ काट्न सक्छु’ भन्दै पटकपटक धम्क्याइरहेको छ ।
किन एक्कासी आक्रमण भयो ?
म रिपोर्टिङको क्रममा थिएँ । मैले आफुलाई रिपोर्टर हुँ भनेको कुरा उहाँहरुले सुन्दै सुन्नभएन । मैले प्रश्न पनि सामान्य नै गरेको थिएँ । ‘यहाँ के भएको हो वास्तविक कुरा के हो ?’ भन्दै प्रश्न गरेको थिएँ । उहाँले अपशब्द प्रयोग गर्दै तँलाई के मतलव भन्नुभयो । ‘दाई म रिपोर्टर हुँ ’ भन्न मात्र के लागेको थिएँ उहाँले हात हालिहाल्नुभयो । त्यसपछि उहाँले कुरा नै गर्न खोज्नुभएन । बाहिर पब्लिक जम्मा भइसकेपछि साँझ पाँच बजेतिर चाहीँ म पत्रकार रहको उहाँले थाहा पाउनुभएछ र ‘भाई कुरा मिलाउन पर्यो ’ भन्दै आउनुभयो ।
उहाँहरुले पहिलै देखि त्यहाँ हप्ता उठाउने गर्नुहुँदो रहेछ । त्यहाँको वासिङ सेन्टरसंग हप्तैेपिछे पैसा माग्ने गर्नुहुँदो रहेछ । मैले त्यसबारेमा सोध्न नपाउँदै उनिहरुले ममाथि आक्रमण गरेका थिए । म रिपोर्टर हुँ भन्दापनि ‘ तँ जो भएपनि हामीलाई के मतलब ’ भन्दै हात हालेका थिए । ‘केन्द्रको पावर लगाएपनि लगा, गृहमन्त्रीको पावर लगाएपनि लगा, म १५ मिनेटमा मेरा केटाहरुलाई छुटाउँछु ’ भन्दै शैलेस श्रेष्ठले पुलिसकै अगाडी तेरो हातखुट्टा काटेर छुट्याइदिन्छु भनि धम्क्याए ।
प्रहरी प्रशासनका अधिकारीहरु हेरेरै बसिरहेका थिए । उहाँहरुलाई पनि माथिबाट दबाव आइरहेको हुनाले प्रेसरमा हुनुहुन्थ्यो । मेरो ज्याकेट र टाउको रगतले भिजेको थियो । ठुलो केश बन्न सक्छ भन्दैे उल्टै रगत पखाल्न दबाव दिए । अस्पतालबाट निस्कँदा पनि टाँका लगाएको देखिन्छ भनेर टोपी लगाएर जानका लागि आग्रह गर्दै थिए । मैले मानिँन ।
करिब साँढे ८ बजेतिर मलाई अन्नपुर्ण अस्पताल ल्याइएको हाे । डाक्टरहरुले ४८ घण्टासम्म हेरबिचार गर्नुपर्छ भन्नु भएको छ । टाउकोमा १३ वटा टाँका लगाइएको भनिएको छ तर मैले थाहा पाइनँ ।
शैलेश श्रेष्ठको पृष्ठभुमी
मैले त बुझेको पनि थिइनँ । उहाँले धम्कि दिने बेला आफैले भन्नुभएको थियो । ‘शैलेश भनेको चिनिराख् ! मनोहरा नजिकैको सुकुम्बासी बस्ती अन्तर्गतको टोल सुधार समितिको अध्यक्ष हुँ । म यहाँको ठुलै मान्छे हो । चिनिराख् पछि काम लाग्छ ।’ पहिल्यै चिनेको भए यस्तो घटना घट्दैनथ्यो भन्दै थिए । उनले मलाई वासिङ सेन्टरमा गाडी धुने कामदारको रुपमा लिएका रहेछन् । ‘यो भाईले उपचार गर्न सक्दैन, वासिङमा काम गरेर सय रुपैयाँ कमाउनले के उपचार गर्न सक्छ ? जति खर्च लाग्छ म ब्यहोर्छु तर उता गएर मान्छे छुटाइदिनुपर्यो’ भनिरहेका थिए ।
मैले त बुझेको पनि थिइनँ । उहाँले धम्कि दिने बेला आफैले भन्नुभएको थियो । ‘शैलेश भनेको चिनिराख् ! मनोहरा नजिकैको सुकुम्बासी बस्ती अन्तर्गतको टोल सुधार समितिको अध्यक्ष हुँ । म यहाँको ठुलै मान्छे हो । चिनिराख् पछि काम लाग्छ ।’ ‘पहिल्यै चिनेको भए यस्तो घटना घट्दैनथ्यो’ भन्दै थिए । उनले मलाई वासिङ सेन्टरमा गाडी धुने कामदारको रुपमा लिएका रहेछन् । ‘यो भाईले उपचार गर्न सक्दैन, वासिङमा काम गरेर सय रुपैयाँ कमाउनले के उपचार गर्न सक्छ ? जति खर्च लाग्छ म ब्यहोर्छु तर उता गएर मान्छे छुटाइदिनुपर्यो’ भनिरहेका थिए ।
डाक्टरहरुले ४८ घण्टा राख्नुपर्छ भन्नुभएको छ । अब यहाँबाट डिस्चार्ज भएपछि कानुनी हिसाबमा के गर्ने भन्ने विषयमा सोच्नुपर्छ । प्रहरीहरु पनि सामान्य वयान लिएर जानुभएको छ । अब हेरौँ के हुन्छ ।