रुकुम हत्याकाण्डको विरोधमा रोल्पामा प्रदर्शन : ‘पीडितले न्याय नपाए हामी रोल्पाली फेरि मर्न तयार छौँ’

दियो पोस्ट  

रोल्पा, ५ असार । रुकुम पश्चिमको सोती हत्याकाण्डमा मारिएका नवराज विक सहित ६ जना युवाको सामुहिक रुपमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । माओवादी जनयुद्धको उद्गम थलोको रुपमा रुकुम र रोल्पालाई लिइन्छ । रुकुम हत्याकाण्डको विषयमा रोल्पामा भएका यस्ता कार्यक्रमलाई अर्थपूर्ण रुपमा हेरिन्छ ।
रोल्पा जिल्लाका अधिकारकर्मीहरु, राजनीतिकदल, सरकारको सहभागितामा भएको कार्यक्रममा रुकुम पश्चिममा घएको हतया प्रकरणका दोषीलाई जन्मकैदको माग गरिएको छ । अधिकारकर्मीहरुले पीडितको मुक्तिका लागि फेरी युद्ध लड्न समेत तयार रहेको बताएका छन् ।
रोल्पा माडी गाउँपालिका घर्तीगाउँका अधिकारकर्मीहरुको पहलमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका सदस्य एंवं अधिकारकर्मी कर्मलाल परियारले २१ आँै शताब्दीमा पनि दलित समुदायहरु जातिय छुवाछुतकै कारणले जीवन गुमाउनु पर्ने संस्कारको तुरुन्त अन्त्य हुनुपर्ने बताए । उनले दलित समुदायको मात्रै सरोकार एवं एजेण्डा नभएकाले राष्ट्रले नै एजेण्डा बनाउनुपर्ने बताए ।
उनले सरकार तथा पार्टीका नेताहरुले सही ढंगले छानबीन गरी दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गरे । परिवर्तनको लागि लडेको रोल्पा रुकुममै यस्ता प्रकारको घटना भएकोमा दुःख व्यक्त गर्दै उनले घटनाका दोषिलाई कारवाही हुनु पर्ने बताए ।
कार्यक्रममा माडी गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनमगरले यो देशमा आमुल परिवर्तनका लागि लडिएको विगतका सबै आन्दोलनका उपलब्धी गुम्ने खतरा रहेको कारणले रुकुम घटनाका पीडितहरुले न्याय नपाएको बताए । उनले आफू त्यस्ता विरुद्ध आन्दोलनको नेतृत्व गर्न तयार रहेको बताए । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका निवर्तमान सभापति कृष्णबहादुर घर्तीमगर नेपाल सरकारले कुटी कुटी मार्ने अपराधीहरुलाई जन्मकैदको सजाय दिनुपर्ने बताए । उनले त्यसतर्फ राज्यले ध्यान नदिदा अपराधहरु बढ्ने बताए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तीमगर, नेपाली कांग्रेसका क्षेत्रीय सभापति गोपाल घर्तीमगर, नेपाल पत्रकार महासंघका प्रथम कार्यकालका अध्यक्ष एवं अधिकारकर्मी मानसिंह विश्वकर्मा लगायतले श्रद्धाञ्जली एवं विरोध मनतव्य राखेका थिए ।