कोरोनाबाट मृत्यु भएको परिवारलाई हेटौँडा उपमहानगरपालिकाले ३ लाख राहत दिने

दियो पोस्ट  

काठमाडौँ, असार १० । हेटौँडा महानगरपालिकाले कोरोनाभाइरसको कारण ज्यान गुमाएका व्यक्तिको परिवारलाई राहतस्वरुप तीन लाख प्रदान गर्ने भएको छ ।

बुधबार आयोजित नगरसभा वैठकमा महानगरको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उपमेयर मिना लामाले विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरसले ज्यान गुमेको व्यक्तिको परिवारलाई सामान्य राहत स्वरुप उक्त रकम प्रदान गर्ने बताएकी छन् ।

महानगरपालिकाले आर्थिक बर्ष २०७७÷०७८ का लागि दुई अर्ब आठ करोड ६६ लाख ३३ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । बजेटमा पूर्वाधार विकासतर्फ ९७ करोड ९८ लाख ३९ हजार, आर्थिक विकासतर्फ ६ करोड ५३ लाख, सामाजिक विकासतर्फ ७२ करोड ७४ लाख ७९ हजार, वातावरण तथा विपद व्यवस्थापनतर्फ चार करोड ७१ लाख १९ हजार र संस्थागत विकास तथा सेवा प्रवाह र सुशासनतर्फ तीन करोड ५४ लाख रुपैयाँ विनियोजन गरिएको उपमेयर मिनाकुमारी लामाले बताएकी छन् ।

उपमहानगरले आन्तरिक स्रोतबाट २० करोड १४ लाख ७९ हजार, राजस्व बाँडफाँडबाट ५५ करोड तीन लाख ४४ हजार, प्रदेश सरकारको अनुदानबाट आठ करोड ३५ लाख ९८ हजार तथा सङ्घीय सरकारको अनुदानबाट ९८ करोड ९९ लाख र असार मसान्तसम्म खर्च नभइ बचत भएको २६ करोड १३ लाख ११ हजार रुपैयाँबाट खर्च व्यहोर्ने लक्ष्य राखेको छ ।