राजा वीरेन्द्रको शालिक स्थापना गर्ने विषयमा प्रहरी र शालिक राख्नेबीच झडप

diyopost.com
दियो पोस्ट  बिहिबार, जेठ १९, २०७९ | १२:३५:२५

काठमाडौँ,। अनुमति र सहमति विना नेपालगञ्जको धम्बोझी चोकमा बिहीहबार विहानै स्वर्गीय राजा वीरेन्द्रको शालिक स्थापना गर्ने विषयमा प्रहरी र शालिक राख्नेबीच झडप भएको छ ।

राजा समर्थित नेपालगञ्जका युवाले एकाविहानै चोकमा शालिक स्थापना गरेपछि प्रहरीले हटाउन खोज्दा प्रहरीमाथि चारैतिरबाट ढुंगा प्रहार गरिएको थियो ।

ढुंगा प्रहारपछि प्रहरीले चार राउण्ड हवाई फायर गरेर भीड तितरवितर गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

सो क्रममा ढुंगा लागेर करिब १५ जना प्रहरी सामान्य घाइते भएको, स्थापना गरिएको शालिकलाई हटाइएको तथा केहीलाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले बताए ।

धम्बोझी चोकमा शालिक राखेको एक घण्टा बित्न नपाउँदै स्थानीय प्रहरी, प्रशासनले हटाउन खोज्दा झडप भएको उहाँले बताउनुभयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले प्रशासनको अनुमति विना केही युवाले धम्बोझी चोकमा शालिक राखेको र त्यसको केही समयमै प्रहरीले शालिक हटाएको जनाउँदै अहिले अवस्था नियन्त्रणमा रहेको बताए।

यसअघि केही महिना पहिले नेपालगञ्जको त्रिभुवन चोकमा पनि अनुमति विना केही युवाले राजा त्रिभुवनको शालिक स्थापना गरेका थिए । त्यति बेला प्रहरी प्रशासनले कुनै एक्सन लिएको थिएन ।

वीरेन्द्र चोकमा यसअघि पनि शालिक स्थापनाको विषयमा पटक पटक राजावादी समर्थक र सुरक्षाकर्मीबीच झडप हुँदै आएको छ । चोकमा रहेको पुर्व राजाको शालिक जनआन्दोलन सकिएपछि तत्कालिन माओवादी समर्थक युवा विद्यार्थीहरुले तोडफोड गरेपछि पटक पटक शालिक राख्ने र हटाउने विषयमा विवाद रहँदै आएको छ । राप्रपाका सह महामन्त्री ऋषिराज देवकोटाले शालिक हटाउने कार्यको विरोध गर्दै संयमता अपनाउन नेता कार्यकर्ताहरुलाई आग्रह गरिएको बताए।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले धम्बोझी चौकमा भएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै शहीद सेतु विकको शालिकमा तोडफोड हुनु निन्दनीय भएको बताए । उनले सबैपक्षसँग संवाद गरेर अघि बढ्ने बताए ।

सो घटनापछि नेपालगञ्जको विपी चोक, गणेशमान चोक र पुष्पलाल चोकमा राखिएका शालिकको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ ।

सम्बन्धित खबर