सिमरा बिमानस्थलको उडान केहि दिन कटौति हुने

दियो पोस्ट  

काठमाडौँ,। बारास्थित सिमरा विमानस्थलबाट यही जेठ २४ गतेदेखि आगामी असार १३ गतेसम्म दैनिक उडान कटौती हुने भएको छ । विमानस्थल क्षेत्रमा मर्मतसम्भारको काम हुने भएकाले २० दिन दैनिक उडान कटौती हुने भएको हो । सो अवधिमा बिहान ६ देखि ११ बजेसम्म मात्रै उडान हुने सिमरा विमानस्थलका प्रमुख भूपेन्द्र भट्टले जानकारी दिएका छन् । नियमित १२ उडान हुँदै आएको सिमरा विमानस्थलबाट सो अवधिमा दैनिक आधामात्रै उडान हुने उनले बताए ।

वर्षौँदेखि जीर्ण अवस्थामा रहेको सिमरा विमानस्थल मर्मतसम्भार गर्न लागिएको हो । दैनिक उडानको समय कटौती गरी मर्मतको काम अघि बढाइएको हो । सप्तकोसी निर्माण सेवा कम्पनीले उक्त मर्मतसम्भारको ठेक्का लिएको छ ।