१६ वर्षीय किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा सात जना पक्राउ

diyopost.com
दियो पोस्ट  सोमबार, जेठ २३, २०७९ | १६:५९:४२

काठमाडौँ,। बाँकेमा १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा सात जना पक्राउ परेका छन् । सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा वैजनाथ गाउँपालिकाका सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधसुदन न्यौपानेले जानकारी दिएका छन् ।

फेसबुकमार्फत चिनजान भएका १७ वर्षका हेमराज थारुले आफ्नो जन्मदिन मनाउन भन्दै भेट्न बोलाएपछि आएकी किशोरीलाई हेमराजलगायत सातजनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । किशोरीलाई सुरुमा बाँके–बर्दियाको सिमाना मानखोलाको जङ्गल र त्यसपछि वैजनाथस्थित एक टहरामा लगेर बलात्कार गरेको बताइएको छ ।

प्रहरीले हेमराज, निराजन थारु, विक्रान्त थारु, प्रवीण थारु, राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारुलाई विभिन्न ठाउँबाट पक्राउ गरेको थियो ।

इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले खजुरा गाउँपालिका–५ चाइना इँटाभट्टा नजिक शङ्कास्पदरूपमा भे ३ प ३५२७ नम्बरको मोटरसाइकलमा ती किशोरीलाई दुई पुरुषले मोटरसाइकलको बीचमा राखी हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएपछि घटना बाहिर आएको हो ।

कसरी भयो घटना ?

प्रहरीका अनुसार नेपालगञ्जबाट शनिबार ४ बजेतिर बस चढेर मानखोला पुगेकी किशोरीसँग पहिले हेमराज र उनका साथी बिक्रान्तले भेटेका थिए । त्यसपछि बिक्रान्तको मोटरसाइकल चढेर तीनै जना बढैया ताल पुगे । त्यहाँ घुमफिर गरे । त्यसपछि उनीहरु मानखोलाको फूलबारीमा बेलुकी छ बजेदेखि राति १२ बजेसम्म जन्मदिनको भोज गरे । उनीहरुले भोजमा घरेलु मदिरा पनि सेवन गरेका थिए ।

‘उनीहरुले किशोरीलाई पनि मदिरा पिलाए,’ डीएसपी न्यौपानेले भने, ‘त्यसपछि उनीहरुले पालैपालो किशोरीलाई बलात्कार गरेको बयान दिएका छन् ।’

बलात्कारपछि किशोरी बेहोस भएकी थिइन् । उनीहरुले किशोरीलाई मोटरसाइकलमा राखेर बैजनाथ वडा नं। ८ पिपरीमा बिक्रान्त थारुले बंगुर पाल्दै आएको टिनको टहरोमा पु¥याएको बयान दिएका डीएसपी न्यौपानले बताए । गोठमा पनि दुई जनाले बलात्कार गरेको किशोरीले प्रहरीसँग बताएकी छन् ।

गोठमा अर्धचेत अवस्थामा रहेकी किशोरीलाई घर पुर्‍याइदिने भन्दै बिक्रान्तको भे ३ प ३५२७ नम्बरको मोटरसाइकलमा राखेर नेपालगञ्जतर्फ लगेका थिए ।

नेपालगञ्ज गुलरिया सडकको उढरापुरमा प्रहरी चेकिङ थियो । पछिल्लो समयमा पशु तस्करी बढेकाले प्रहरीले राति पनि गस्ती गर्ने र चेकिङ गर्ने क्रम बढाएको थियो ।

खजुरा गाउँपालिका–५ को प्रतीक्षालय चोकमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीको नजर बेहोस किशोरीलाई लिएर आइरहेको मोटरसाइकलमा पर्‍यो । एक जना युवकले मोटरसाइकल चलाएका थिए भने अर्का युवकले किशोरीलाई बोकेका थिए ।

किशोरीलाई अर्धचेत अवस्थामा देखेपछि आफूहरुले चौकीमा ल्याएर सोधपुछ गरेको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक प्रेमप्रसाद रेग्मी बताउँछन् । ‘किशोरी जब होसमा आइन्, उनले नै आफूमाथि बलात्कार भएको बताइन्,’ रेग्मीले भने, ‘त्यसपछि उनीहरुकै बयानका आधारमा थप ५ जना पक्राउ गर्‍यौं ।’

सम्बन्धित खबर