एमाले निकट अनेरास्ववियुका पूर्वनेता शेषकान्त गौतम विरुद्ध भ्रष्टाचार मुद्दा दायर !

diyopost.com
दियो पोस्ट  शुक्रबार, जेठ २७, २०७९ | ८:४८:२७

काठमाडौं । नेकपा एमालेको भ्रातृ संस्था अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका पूर्वनेता शेषकान्त गौतमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको भन्दै बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

गौतमले राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशक भएको बेला कर्मचारी नियुक्तिमा अनियमितता गरेको अख्तियारको ठहर छ । गौतमले बोर्डमा शैक्षिक योग्यता नमिल्ने व्यक्तिलाई नियुक्ति गरेर गैरकानुनी काम गरेको अख्तियारको दाबी छ । अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दाअनुसार राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कृषि प्राविधिक र लेखापाल पदमा कर्मचारी नियुक्त गर्दा शैक्षिक योग्यता नमिल्ने कर्मचारी नियुक्त गरेको दाबी गरेको छ ।

आयोगले विहिबारी जारी गरेको विज्ञप्ति अनुसार २०७२ असोज २ गते गोरखापत्रमा प्रकाशित सुचना अनुसार विभिन्न पदमा पदपूर्तिका लागि विज्ञापन गरेको थियो । बोर्डको कार्यकारी निर्देशक पदपूर्ति समितिको संयोजक रही कृषि प्राविधिक र लेखापाल पदमा योग्यता नमिल्ने व्यक्तिलाई नियुक्ति गरेका थिए ।

शैक्षिक योग्यता हेर्ने परिक्षण गर्न सावधानी अपनाउनुपर्नेमा तोकिएको न्युनतम शैक्षिक योग्यता नमिल्ने व्यक्तिको दरखास्त फारम स्विकृत गर्ने र गर्न आदेश दिने काम गरेको ठहर गरिएको छ ।

 

गैरकानुनीरुपमा दरखास्त स्वीकृत गर्ने कर्मचारीले प्रचलित कर्मचारी सेवा शर्त विनियमावलीअनुसारको शैक्षिक योग्यताको तथ्यलाई लुकाएको पाइएको छ ।

 

आयोगले बोर्डका तत्कालीन कार्यकारी निर्देशक गौतम, दरखास्त स्वीकृत गर्ने कर्मचारी तत्कालीन प्रशासन प्रमुख रघुपति चौधरी, कृषि विकास अधिकृत गौरव लुइँटेल र लेखा अधिकृत टङ्कप्रसाद ओलीविरुद्ध मुद्दा दायर गरिएको छ । आयोगले आरोपीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को सोही दफाबमोजिम सजायको मागदाबी गरेको छ ।

सम्बन्धित खबर