लेखक : पुजा राठी
अनुवाद : फूलमती
भारतको नारीवादी आन्दोलनामा अनुराधा गान्धीको नाम अग्रस्थानमा छ । करिब तीन दशकको लामो समय उनी विद्यार्थी आन्दोलन, नागरिक अधिकार, महिला, मजदुर, जनजाति र दलित आन्दोलनमा अग्रपंक्तिमा उभिइन् । अनुराधा क्रान्तिकारी, कम्युनिस्ट, नेता र लेखक पनि थिइन् । उनी महिला, जात व्यवस्था र फाँसीवादका विषयमा व्यापक रूपमा लेख्ने गर्थीन् ।
बाल्यकाल
अनुराधा गान्धीको जन्म २८ मार्च १९५४ मा मुम्बईमा भएको थियो । उनको बुबाको नाम गणेश र आमाको नाम कुमुद शानबाग थियो । उनका आमाबाबु दुवै भारतीय कम्युनिस्ट पार्टीसँग सम्बद्ध थिए । उनका बुबा मुम्बई हाईकोर्टका प्रसिद्ध वकिल थिए । उनकी आमा सामाजिक कार्यकर्ता थिइन् । अनुराधाका बुबा कन्नड र आमा गुजराती थिइन् । उनको घरको वातावरण निकै राजनीतिक र लोकतान्त्रिक थियो । पढाइ र रचनात्मक वातावरणका कारण अनुराधामा बाल्यकालदेखि नै क्रान्तिकारी विचार थियो ।
राजनीतिक करियरको सुरुवात
अनुराधा गान्धीको राजनीतिक करियर सन् १९७२ मा मुम्बईको एल्फिन्स्टन कलेजबाट सुरु भएको थियो । त्यतिबेला त्यो कलेज वामपन्थी विचारधाराको केन्द्र थियो । सोही समयमा, महाराष्ट्रका ठूला ग्रामीण क्षेत्रहरूले इतिहासको सबैभन्दा खराब र भीषण खडेरीको सामना गरिरहेका थिए । अनुराधा आफ्नो सामाजिक परिवेशप्रति निकै संवेदनशील थिइन् । खडेरी प्रभावित क्षेत्रका गरिब जनताको अवस्थाबारे जान्न कलेजका सहकर्मीहरूको समूहसँगै उनी पुगिन् । अनिकाल र गरिबीमा बाँचिरहेका मानिसहरूको जीवनको आशा देखेर उनी निकै प्रभावित भइन्। त्यसपछि उनले पछाडि फर्केर हेरिन्न र सामाजिक कार्यकर्ताको रुपमा सक्रिय भएर काम गर्न थालिन् ।
अनुराधा गान्धीले ‘प्रगतिशील युवा आन्दोलन’ र ‘नक्सलबाडी’मा सामेल भइसकेपछि धेरै आन्दोलनहरूको नेतृत्व गरिन् । उनले प्रगतिशील आन्दोलनसँग जोडिनुका साथै ग्रामीण तथा जनजाति महिलाको उत्थानका लागि पनि महत्वपूर्ण योगदान दिएकी थिइन् । आफ्नो जीवनभरि, अनुराधा गान्धीले अन्तरसम्बन्धित नारीवादी विचारहरूको साथ समानता स्थापना गर्ने दिशामा काम गरिरहिन् । उनले हरेक जात र वर्गका महिलालाई हरेक संघर्षमा अगाडि आउन प्रेरित गरिन । उनले धेरै महिलाहरूलाई आन्दोलनको नेतृत्व गर्न प्रभावित गर्नुका साथै आन्दोलनसंग जोड्ने काम गरिन् ।
अनुराधाले लगातार दलितहरूसँग अन्तरक्रिया मार्फत उनीहरूका समस्याबारे जानकारी लिइन् । उनी सन् १९७४ मा दलित प्यान्थर आन्दोलनमा पनि संलग्न भइन् । उनले संकटकालमा प्रजातान्त्रिक अधिकारको हनन्का विरुद्ध आवाज उठाएकी थिइन् । सन् १९८२ मा, उनी विदर्भ क्षेत्रमा महिला, दलित संगठनहरू र ट्रेड युनियनहरूसँग काम गर्न मुम्बईबाट नागपुर सरुवा भएकि थिइन् । सन् १९८६ मा अनुराधा उत्तरी नागपुरको इन्दोरा क्षेत्रमा बस्न थालेकी थिइन् । यो क्षेत्र दलित राजनीतिको मुख्य क्षेत्र थियो । त्यतिबेला उनी नागपुर युनिभर्सिटीमा पार्टटाइम लेक्चररको रुपमा पनि काम गर्थिन् । ट्रेड युनियन र दलित आन्दोलनमा भाग लिएपछि उनी पटकपटक जेल परेकी थिइन् ।
महिलाहरुलाई बनाइन शिक्षित
अनुराधा गान्धीले महिलाहरूलाई सामाजिक आन्दोलनसँग जोड्ने दिशामा धेरै काम गरिन् । उनले नेतृत्व लिएर पितृसत्ताको साङ्लो तोड्न महिलाहरूलाई प्रेरित गर्थिन् । उनले विशेषगरी ग्रामीण र जनजाति महिलालाई केन्द्रमा ल्याउने काम गरिन् । उनले ग्रामीण तथा जनजाति महिलाहरूलाई शिक्षित गरेर उनीहरूको अधिकारको बारेमा सचेत गराउन अक्सर बैठकहरूमा काम गरेकी थिइन् ।
क्रान्तिकारी लेखक
अनुराधा गान्धीले आफ्नो लेख मार्फत जनताको अधिकारको कुरा गर्थिन् र आफ्नो लेखबाट सरकारको आलोचना गर्थिन् । उनले मुख्यतया मराठी र अंग्रेजीमा लेख्ने कार्य गरिन् । उनले धेरै लेख र निबन्धहरू मार्फत आफ्ना विचारहरू राखेकी छन् । माक्र्सवादमा दलित र जातिको दृष्टिकोणलाई अगाडि बढाउन ‘सत्यशोधक माक्र्सवाद’ नामको मराठीमा लामो लेख लेखेकी थिइन् । यस लेखमा उनले दलित मुक्तिमा माक्र्सवादको दृष्टिकोणलाई अगाडि बढाउने काम गरेकी छन् ।
अनुराधा गान्धी प्यान्थर आन्दोलनसँग जोडिएकी थिइन् । भारतीय जात व्यवस्थाको बारेमा उनको बुझाइ ‘कास्ट क्वश्चेन इन इंडिया’ र ‘द कास्ट क्वेश्न रिटर्नस’ जस्ता लेखहरूबाट थाहा पाउन सकिन्छ । उनले आफ्नो लेखमा भारतमा प्राचीनकालदेखि वर्तमानसम्म रहेको जात व्यवस्थामाथि प्रकाश पारेकी छन् । उनले ग्रामीण क्षेत्रमा कसरी जात व्यवस्था छ, जनताले यसलाई कति छिट्टै र सजिलै अपनाउछन् र कसरी जनताको शोषण गर्छन् भन्ने कुरा लेखेकी छन् । उनी भारतबाट जात व्यवस्थाको जरालाई नै उखेलेर अन्त्य गर्ने पक्षमा थिइन् ।
अनुराधा नारीवादी पनि थिइन् । उनले भारतीय नारीवादमा धेरै महत्त्वपूर्ण लेखहरु लेख्ने कार्य गरेकी छन् । उनले वर्गसंघर्ष र सामाजिक स्थितिलाई महिला आन्दोलनसँग जोडिन् । उनी भारतमा नारीवादको सिद्धान्तका साथ तल्लो तहमा आन्दोलन स्थापना गर्ने पक्षमा थिइन् । अनुराधा गान्धीले नारीवादी आन्दोलनमा दार्शनिक प्रवृत्तिमा नारीवादका विभिन्न पक्षहरूमा व्यापक रूपमा लेख्ने काम गरेकी छन् । उनले माक्र्सवाद र नारीवाद माथि पनि धेरै लेखहरु लेखेकी छन् ।
गान्धीले हरेक विषयमा आफ्नो विचार लेख्ने माध्यमबाट व्यक्त गर्ने गर्थिन । हिन्दुत्वप्रति आफ्नो धारणा राख्दै उनले “यो देशको लोकतन्त्रका लागि खतरा छ” भनेकी थिइन् । सन् २००१ मा प्रधानमन्त्री नरेन्द्र मोदीको गुजरातको मुख्यमन्त्रीमा नियुक्ति र हिन्दुत्वको राजनीति माथि उनले आफ्नो लेख ‘फासीवाद, कट्टरवाद र पितृसत्ता’ मार्फत हिन्दुत्वको उदय र प्रसारको बारेमा लेखेकी थिइन् । उनले आफ्नो लेखमा फासीवाद, धार्मिक कट्टरपन्थी र पितृसत्ताबीचको सम्बन्धको चर्चा गर्दै हिन्दुत्व विचारधारा र यसको कार्यशैलीमा प्रश्न उठाएकी थिइन् ।
अनुराधा गान्धीले आफ्नो सम्पूर्ण जीवन आफ्नै शर्तमा, आफ्नै तरिकाले बिताइन् । उनको कामले असमानताको सिद्धान्तमा आधारित सामाजिक व्यवस्था परिवर्तन गर्न विभिन्न तरिकामा काम गरेको देखाउँछ । अनुराधा गान्धी माक्र्सवादी, शिक्षिका, लेखक, नेता थिइन् तर सरकारी संयन्त्रको दमनकारी नीतिको विरोधका कारण भारतीय राज्यले उनलाई सधैं ‘माओवादी आतंकवादी’ भनेर चिनायो । २००८ मा, झारखण्डको जंगलमा आदिवासी महिलाहरूलाई शिक्षित गर्दा उनको मलेरियाबाट मृत्यु भयो ।