रीता बुढाथोकी
बुटवल । जातिय विभेद भन्ने वित्तिकै हामी दलित र गैरदलितलाई सम्झन्छौँ । अर्थात, दलितमाथि गैरदलितले गर्ने विभेद । त्यसैले गैरदलितले गैरदलितलाई नै गर्ने जातिय विभेद चर्चामा छैन । तर, पाल्पाकी मोना थापाले भने आफ्नै घरमा जातिय विभेद भोग्नु परेको छ ।
तानसेन नगरपालिका वडा नं ९ दमकडा निवासी २४ वर्षिया मोना थापाले यसै गरि बिगत एक वर्षयता आफू क्षेत्री भएकै कारण भुसाल थर भएका श्रीमानको परिवारबाट दिनहुँ जातीय विभेद र घरेलु हिंसा भोग्नु परेको छ ।
आज भन्दा ४ वर्षअघि अनुपम भुसालसंगको प्रेम पश्चात घरपरिवारको सहमतीमा मोनाको विवाह भयो । विवाह भएको केही वर्ष मोनाले घरमा कुनै पनि विभेद खेप्नु परेन । त्यसो त, मोना कुनै समय चर्चित क्रिकेट खेलाडी समेत थिइन् । सबै कुरा राम्रै चलिरहेको थियो । सासु आमा समानकी थिइन् । तर, गत वर्ष मोनाकी सासुको ‘कोभिड–१९’ का कारण मृत्यु भएपछि मोनामाथि जातीय विभेद सुरु हुन थाल्यो । हिन्दु धर्म र परम्परा अनुसार गरिने मृत्यु संस्कार र कृयाकर्ममा आफुमाथि विभेद गरिएको मोनाको भनाई छ ।
कृया बस्दा मोनाका जेठाजु, श्रीमान र जेठानीहरुसंगै बसेका थिए । तर, मोनालाई भने छुट्टै कोठामा राखेर कृया गर्न लगाइएको थियो । मृत्यु भएको ४५ दिनसम्म घर–परिवारले मोनाले छोएको खाएनन् । आफुमाथिको विभेदका कारण मोना भित्रभित्रै विक्षिप्त बनेकी थिइन् । आखिर मोना क्षेत्रीको छोरी भएकै कारण ब्राम्हणको संस्कार अनुसार यस्तो गरिएको थियो ।
‘जेठानी दिदीले मैले कातेको बत्ति जलाउनु भएन । मैले जलाएको दियो निभे पछि माझेर सुनपानी छर्केर भित्र लैजानु भयो । उहाँले किन यसो गर्नु भयो होला? भनेर मलाई अचम्म लागिरह्यो । आखिर म क्षेत्रीकी छोरी भएर नै यसो गरिएको थियो ।’ मोनाले पीडा ब्यक्त गरिन् ।
‘सासु आमा हुँदा मैले कहिल्यै बिभेदको महसुस गर्नु परेन । आमाले ‘क्षेत्री र ब्राम्हण’ भनेर कहिल्यै छुट्याउनु भएन । तर, उहाँ बिते पछि म माथि एकाएक बिभेद सुरु भयो ।’ आफु माथिको बिभेदको फेहरिस्त सुनाउँदै उनले भनिन् ।
घर-परिवारबाट दिनहुँ जातीय विभेद हुन थालेपछि उनले यो कुरा श्रीमानलाइ सुनाएकी थिइन् । तर, उनका श्रीमानले श्रीमतीको कुरा सुनेनन् । बरु उल्टै मोनामाथि कुटपीट गर्न थाले । अनुपमले क्षेत्री भएका कारण दिनहुँ आफुमाथि कुटपिट तथा अभद्र व्यवहार गर्नुका साथै मानसिक यातना दिने गरेको मोनाले बताइन् । तर, मोनाका श्रीमानले भने आर्थिक कारोवार र लेनदेनको बिषयमा झगडा हुने गरेको बताउँदै आएका छन् ।
दिनहुँ श्रीमानको कुटाई र जातीय विभेद सहन नसकेपछि मोना दुई वर्षको छोरा लिएर माइती गइन् । माइतिमा समेत आफ्नो समस्या सुुनाउँदा आमा बुवाले छोरी मान्छेले सहेर बस्न पर्छ भन्दै फकाउने गरेकोे मोनाको भनाई छ । मोना माइती जाँदा सासु आमाको मृत्यु भएको ४३ औँ दिन भएको थियो । हिन्दु धर्म र परम्परा अनुसार कृया बसेको बसेको ब्यक्तिले ४५ दिन सम्म घर छोड्न नहुने चलन भए पनि मोना ४५ दिन नबित्दै माइती गएकाले आफुमाथि धर्म संस्कार नमानेको आरोप लाग्ने गरेको उनी बताउँछिन् । यद्यपी, उनी जातीय बिभेद र श्रीमानको कुटाई सहन नसकेर माइती गएकी थिइन् ।
मोनाको शरिरमा श्रीमानले कुटेका थुप्रै निलडाम र चोट छन् । श्रीमानको कुटाइले घाइते हुँदा समेत घरका मान्छेले बेवस्ता गरेको मोनाको भनाई छ । उनी भन्छिन्,-‘मलाई अनुपमले ज्यान मार्ने मनशायले कुटेका हुन् । यसको जड नै जातीय बिभेद हो । यति हुँदा समेत घरका मान्छेले मलाई तिरस्कार गरिरहे । यदी म ब्राम्हणको छोरी हुन्थे भने यस्तो भोग्नु पर्ने थिएन होला । मैले क्षेत्री हुँदा त यती धेरै बिभेद र अपमान सहनु परेको छ भने दलितले झनै कति बिभेद भोगेका होलान?’
त्यसो त, बिभेद भोग्नेलाई मात्र थाहा हुन्छ । यतीबेला मोनाको भोगाई पनि एक दलितको भोगाई भन्दा कम छैन । आफुमाथि बिभेद हुन थालेपछि मानवीय मुल्य र आत्मसम्मान नै गुमेको उनी बताउँछिन् । भन्छिन्,-‘पहिले म सानो हुँदा आमा-बुवाले सानो जातका मान्छेलाई बिभेद गरेको देख्दा समान्य जस्तै लाग्थ्यो । तर, जब आफैमाथि बिभेद भयो त्यसबेला बल्ल थाहा भयो, बिभेदले कति पीडा दिने रहेछ भन्ने कुरा । म मान्छे नै होइन रहेछु, यदी म मान्छे भएको भएको भए त म माथि बिभेद हुँदैनथ्यो होला भन्ने सोँचेर धेरै रोएँ । त्यो घरमा मैले आत्मसम्मान नै गमाएँ ।’
आत्मसम्मान गुमाएर बाँच्नु पर्दाको पीडा मोनाले यतिबेला भोगिरहेकी छिन् । श्रीमानको कुटाई, आफन्तको बेवास्ता र घरपरिवारको अपमानका कारण मोनाले कैयौँ पटक मृत्यु अंगाल्न खोजिन् । तर, नावालक छोराको मायाले उनले त्यसो गर्न सकिनन् । ‘छोरा नभएको भए शायद म उहिल्यै मरिसक्थे होला । उसकै मायाले अहिलेसम्म बाँचेकी छु ।’ उनले केही दृढता ब्यक्त गरिन् ।
यद्यपी, मोनाका घर परिवार सबै शिक्षित छन् । उनका ससुरा कानुनको वकालत गर्ने अधिवक्ता हुन् । मोनाका श्रीमानले तानसेन नगरपालिका वडा नं ४ स्थित ‘म्याक्स स्पोर्ट’को व्यावसाय गर्दै आएका छन् । यता, कान्छी सासु सीता भुसाल भर्खरै सम्पन्न स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट तानसेन नगरपालिका वडा नम्बर ९ बाट बिजयी बनेकी छिन् । यस्तो परिवारमा कसरी विभेद हुन सक्छ ? जो कसैलाई पत्यार लाग्न मुस्किल छ । तर, मोनाले भने यही परिवारमा दिनहुँ जातीय विभेद खेप्दै अएकी छिन् ।
मोनाकी कान्छी सासु सिता भुषालले भनिन्, ‘क्षेत्रीको छोरी वाहुनसंग बिहे गरेर आयो भन्दैमा वाहुन हुन्छ र ? हामीले आफ्नो धर्म संस्कार छाड्न त भएन नी ।’ यता सीताका श्रीमान मोहन भुषालले समेत धर्म संस्कारमा रहनु पर्ने कुरालाई जोड दिँदै अएका छन् । भन्छन्, ‘धर्म संस्कार भन्ने कुरा छुट्टै कुरा हो । आफुलाई चित्त बुझ्दैन भने ‘मैले छोएको’ नखाँदा पनि हुन्छ ।’ उनले घमाउरो पारामा जातीय बिभेदलाई प्राथमिकता दिएको देखिन्छ ।
भुसालले अनुपमको कुटाईबाट लागेको घाउ-चोट सत्य नभएको जिकिर गर्छन् । भन्छन्, आजकाल फोटो कम्प्युटरबाट बनाउन सकिन्छ । उनले मोनाको शरिरमा लागको चोटप्रति मजाक उढाउन पछि परेनन् ।
दिनहुँ आफुमाथि बिभेद र अत्याचार हुन थालेपछि मोनाले श्रीमानलाई प्रतिपक्षी बनाई २०७८ कार्तिक १८ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा निवेदन दिएकी थिइन् । त्यसपछि जिल्ला प्रहरी कार्यालय पाल्पाका महिला सेल ईन्चार्ज प्रहरी निरिक्षक विष्णु पाठकको रहोवरमा ‘आइन्दा त्यस्ता क्रियाकलाप श्रीमानबाट नहुने’ भन्दै लिखित सहमति भएपछि उनी घर फर्किएकी थिइन् ।
घर फर्केको केही दिन पछि पूनः मोनामाथि शारिरिक र मानसिक यातना सुरु भयो । मोनाले ४ महिना पछि ०७८ फागुनमा तानसेन नगरपालिका वडा नं ७ प्रभासस्थित प्रहरी चौकीमा निवेदन गर्न खोज्दा सो ‘केस’ पहिले नै जिल्ला प्रहरी कार्यालय पाल्पामा दर्ता भएकोले जिल्ला प्रहरी कार्यालय मै वुझ्न पठाइएको थियो । तर, त्यहाँ पनि मोनाको कुरा सुनुवाई भएन । यति बेला उनी दुुई वर्षको दुधे बालक बोकेर न्यायको खोजीमा भौतारिएकी छिन् ।
संविधानमा कुनै जात धर्म र संस्कारका नाममा कसैले कसैमाथि कुनै पनि प्रकारको विभेद गर्न नपाईने उल्लेख छ । यदि कसैले धर्म संस्कारका नाममा विभेद गर्छ भने त्यो दण्डनीय अपराध ठहर हुन्छ र दोषी सजायको भागिदार हुनु पर्छ । तर आफुमाथि धर्म र संस्कारका नाममा दिनहुँ विभेद हुँदा समेत सम्बन्धित पक्षले बेवास्ता गरेको मोनाको आरोप छ । यता, मोनाकोे घर परिवार भने आफुहरुले विभेद नगरेको बताउदै आएका छन् ।
हुन त मोना थापा एक प्रतिनिधि पात्र मात्र हुन् । ब्राम्हण परिवारमा विवाह गरेका हरेक क्षेत्री बुहारीले भोग्दै आएको ‘अब्यक्त’ पीडा हो यो । गैर दलित समुदायकाबीचमा पनि जातीय विभेदको ठूलै खाडल छ भन्ने ज्वलन्त उदाहरण पनि हो ।