
काठमाडौँ । नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि र एनआईसी एसिया बैंकबीच होण्डाका ग्राहकलाई सहुलियतपूर्ण अटो लोन उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौतापत्रमा एनआईसी एसिया बैंकका चिफ बिजनेस अफिसर अमित केसी, हेड-मोर्ट्गेज बैंकिङ एन्ड अटो लोन दीपक आचार्य तथा स्याकार (होण्डा कार) का प्रबन्ध निर्देशक सृजना शाक्य ज्योतिले हस्ताक्षर गरेका छन्।
ग्राहकलाई नयाँ होण्डा गाडी खरिद गर्न आर्थिक रूपमा सहज बनाउने उद्देश्यले सम्झौता गरिएको कम्पनीले जनाएको छ।
सम्झौताअनुसार एनआईसी एसिया बैंकले होण्डाका ग्राहकलाई आकर्षक तथा कम ब्याजदरमा सहज फाइनान्सिङ अर्थात् सवारी कर्जा उपलब्ध गराउनेछ । कर्जाका लागि आवश्यक सम्पूर्ण कागजात बुझाएको ६ कार्यदिनभित्र कर्जा प्रक्रिया पूरा गर्ने बैंकको प्रतिबद्धता रहेको कम्पनीले जनाएको छ।
यो फाइनान्सिङ सुविधा होन्डाका विभिन्न लोकप्रिय मोडल खरिद गर्ने ग्राहकका लागि उपलब्ध हुनेछ । जसमा होण्डा सीआर-भी, सिटी ईःएचईभी, फिफ्थ जेन सिटी र एलिभेट लगायतका मोडल रहेका छन् ।
स्याकार ट्रेडिङ र एनआईसी एसियाबिचको यो सहकार्यले होण्डा गाडी खरिद गर्न चाहने ग्राहकलाई सहज वित्तीय सुविधा उपलब्ध हुने कम्पनीको भनाइ छ।