काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालले अहिले दैनिक १० देखि १२ करोड रुपैयाँ बराबरको बिजुली भारतमा बेचिरहेको बताएकी छन् ।
सरकारको तर्फबाट सङ्घीय संसदमा पेश भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा मन्त्रालयसँग सम्बन्धित विषयमा राष्ट्रियसभा सदस्यहरूको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् ।
मन्त्री भुसालले सिँचाइमा प्रयोग हुने विद्युतमा ७५ प्रतिशतसम्म सहुलियत दिने गरी प्रति युनिट २ रुपैयाँसम्म महसुल कायम गरिएको बताइन् ।
‘गत सुख्खायाममा देशको आन्तरिक माग धान्न भारतबाट आयात भएको विद्युतको औसत मूल्य ९ रुपैयाँ ७ पैसा प्रति युनिट रहेको छ भने यो वर्षातमा अहिलेसम्मको निर्यातको औसत दर ११ रुपैयाँ ३८ पैसा प्रति युनिट रहेको छ । आगामी आर्थिक वर्ष वर्षायाममा बढी हुने करिब १५ देखि २० अर्ब नेपाली रुपैयाँ बराबरको विद्युत् निर्यात गर्न सकिनेछ भने आगामी पाँच वर्षपछि हरेक वर्ष ७० अर्ब नेपाली रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गर्न सकिने सम्भावना छ ।’