वर्षाका कारण घर भत्किँदा विभिन्न ठाउँमा गरी तीन जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । वर्षाका कारण देशका विभिन्न ठाउँमा गरी तीन जनाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चितापोल लाकुलीस्थित कान्छा श्रेष्ठको घर आँगनमा लगाइएको पर्खाल वर्षाको कारण भत्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६६ वर्षीया नारायण देवी थापा रहेकी छन् । उनको पुरिएर बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्याङजाको गल्याङ नगरपालिका–१० डुबिनडाँडा बस्ने ढाकाराम भट्टराईको धन्सार बर्षाको कारण भत्किँदा पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही धन्सारमा सुतिरेकी उनकी छोरी १२ वर्षीया रेखा भट्टराई रहेकी छन् । उनको बुधबार मृत्यु भएको हो ।

कञ्चनपुरको बेदकोट नगरपालिका–५ पोलखरी बस्ने गोमा साउँदको घर वर्षाको कारण भत्किँदा पुरिएर सोही घरमा बस्दै आएका लाल बहादुर खुनाकी एक वर्षीया छोरी करिश्मा खुनाको मृत्यु भएको छ ।

घर भत्किँदा गम्भीर घाइते भएकी उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।