म बिनु यादव । स्थायी घर सिराहा तर, बाबाको कामको सिलसिलाले सोलुखुम्बु सर्यौँ । सोलुखुम्बुकै नेलेमा हुर्कें । पढेँ । अहिले बुवा हुनुहुन्न । बित्नु भयो । परिवारमा आमा, भाइ बहिनी र म मात्रै छौं । आमा रोगी हुनुहुन्छ । उहाँ अक्सिजनको सहाराले बाँच्नुभएको छ । भाइ र बहिनी सानै छन्, पढिरहेका छन् । घरको स्थिति नाजुक छ । बुवाआमाको पेन्सन आँउछ तर त्यो आमाको उपचारमा खर्च हुन्छ ।
म काठमाडौंमा पढदै थिएँ । पढाउने काम पनि गर्थेँ । एकदिन मेरो गाउँकै सिभिल इन्जिनीयरिङ गरिरहेको साथी सुदर्शन थापासंग भेट भयो । उसंग अर्को साथी पनि थियो । उसको नाम प्रदीप कठायत हो । घर रामेछापको मन्थली । उसले आफ्नो घर ठिमीमा पनि भएको बतायो । प्रदीप क्वेस्ट इन्टरनेशनल कलेजमा पढ्थ्यो । सुदर्शनको साथी र मेरो पनि साथी बन्यो ऊ । भेटघाटसँगै हामी सामािजक संजालमा पनि जोडियौँ । बिस्तारै हामी नजिकिन थाल्यौँ । कुराकानी नियमित हुन थाल्यो । मेरो हरेक विषयमा चासो राख्ने, भेट्न आउने र केयर गर्ने उसको आदत बन्न थाल्यो । म त्यति चासो राख्दिनँ थिएँ । मेरो परिवारसँग पनि उ नजिकियो । मैलै उसलाई मेरो परिवारको पृष्ठभूमि बताएँ । सोही कारण उसले मलाई अभिभावकले जस्तै माया गर्न थाल्यो । मैले कहिल्यै त्यस्तो माया पाएको थिइनँ । त्यसैले होला म उसँग नजिकिएँ ।
साथीको सम्बन्ध प्रेमीप्रेमिमा परिणत भयो । हामी सम्बन्धमा बसेको लगभग दुई वर्षपछि २०७५ मा साथीहरुसँग सल्लाह गरेर जापान जाने तयारी गरेँ । मेरो डकुमेन्टदेखि लिएर मलाई चाहिने सबै चिजको व्यवस्थापन गरिसकेकी थिएँ । म बाहिर जाँदैछु भनेर प्रदिपलाई भनेँ । तर उसले बाहिर नजान आग्रह गर्यो । उसको प्रेम, केयर र सल्लाहले मलाई जापान जानबाट रोक्यो ।
हाम्रो सम्बन्ध प्रेमीप्रेमिकाबाट माथि उठेर विवाह सम्म पुग्ने पक्कपक्की नै थियो । मैले कहिल्यै कसैसंग कुनै पनि किसिमको सम्बन्ध राखेकी थिइनँ । हामी ‘रिलेशन’मा बसेको र प्रदिपसंग नै विवाह गर्ने निधो गरेपछि हामीबीच सहमतीमा नै नियमित शारीरिक सम्बन्ध हुन्थ्यो । प्रायः उसको ठिमीमा भएको घरमा लिएर जान्थ्यो र शारीरिक सम्बन्ध राख्थ्यो । शारीरिक सम्बन्ध राख्दा हामीले कुनैपनि परिवार नियोजनका साधनहरुको प्रयोग गरेनौं । म गर्भवती (प्रेगनेन्ट) भएँ । मैलै यो कुरा सबैभन्दा पहिला प्रदिपलाई बताएँ । उसले विश्वास गरिरहेको थिएन् तर जब उसलाई थाहा भयो तब बच्चा फाल्नुपर्छ भन्न थाल्यो । उसले भन्थ्यो “हामी सानै छौं । विवाह गर्ने उमेर भएको छैन । अहिले एबोर्सन गरौं ।’
तर, खै किन मलाई बच्चा फाल्न मन थिएन । त्यसैले मैले बच्चा फाल्नु हुँदैन भनेँ । उसले बच्चा फाल्न दबाब दिइरहन्थ्यो । ‘कति पैसा लाग्छ, कहाँ गएर फाल्ने सबै कुरा बुझ त्यसपछि म पैसा दिन्छु’ भनेर उसले जर्बजस्ती गरिरहयो ।
एकदिन अफिसमा मलाई निकै गाह्रो भयो । दिनभर मेरो पेट दुखिरहेको थियो । २०७५ साल चैत १९ गतेको दिन थियो शायद । अफिसबाट घर जाँदै गर्दा मलाई निकै गाह्रो भयो । म घर पुग्न सक्ने स्थितिमा थिइनँ । जसोतसो कोठासम्म पुगें र रातभर रोएँ । सहनै नसक्ने दुखाइको कारण निन्द्रा परेन । त्यसपछि बिहानै शिक्षण अस्पताल महाराजगञ्ज पुगें । त्यहाँ पुगेपछि बच्चा पाठेघरको देब्रे नलीमा गएर बसेको भन्ने थाहा भयो । डाक्टरले अप्रेसन नगरे मेरो ज्यानै जाने अवस्था छ भनेपछि मैले अप्रेसन गरें । थाहा छैन, मेरी आमाले कहाँबाट सबै रकम जुटाउनु भयो । यो सबै विषयमा आमालाई प्रदिपले पनि भनेको थियो । ‘हामीबाट गल्ती भयो तर म बिहे गर्छु,’ उसले भनेको थियो ।
अप्रेशन भयो र मैलै अस्पतालमा नै प्रदीपलाई बोलाएँ । त्यतिबेला उ मन्थली पुगेको थियो । मैले उसलाई फोन गरेर बोलाएँ । अप्रेसनको भोलीपल्ट उ आयो । अस्पतालबाट डिस्चार्ज गर्ने बेलामा उसले बच्चा आफ्नै थियो भनेर कागज गर्यो । त्यसपछि आमासंग कुराकानी गरेर मलाई सिनामंगलको होटेलमा लगेर राख्यो । त्यहाँ दुई दिनसम्म बसेँ । ‘घरमा जानकारी गराउनुपर्यो, एकैपटक कसरी घरमा जाने’ भनेर उसले मलाई त्यहाँ राखेर गएको थियो ।
अप्रेशन गरेकोे कारण मलाई निकै गाह्रो भइरहेको थियो । पेटमा ९ टाँका लगाइएको थियो । डाक्टरले २४ गते टाँका फुकाउने भनेको थियो । त्यही दिन बिहान प्रदिप पनि आइपुग्यो र शारीरिक सम्बन्ध राख्न खोज्यो । मेरो त्यस्तो अवस्था देख्दा–देख्दै पनि उसले जर्बजस्ती सम्बन्ध राख्यो । जसको कारण मेरो अपरेशनपछि पेटमा राखिएका टाँकाहरु नै खुस्कियो । त्यस्तो अवस्थामा पनि उसले मलाई छाडेन । त्यो सहमती भएको सम्बन्ध होइन् । त्यसैले उसले ममाथि बलात्कार गर्यो ।
पेटबाट टाँका फुस्केको र दुखाईका कारण म अस्पताल जाँदै थिएँ । उनले म बाट गल्ती भयो, त्यसो नगर्नुपर्ने, मैलै केही थाहा पाइन्, होसमा थिइनँ भन्दै मलाई फकाए । सकेसम्म एडजस्ट गर्नुपर्छ ठिकै छ भनेर मैलै उनले भने अनुसार अस्पतालमा भर्याङबाट लडेको नै बताएँ ।
सिनामंगलको होटलबाट उसले फेरि मलाई जडिबुटीको होटलमा राख्यो । घरमा कुरा गर्छु भन्यो । त्यसपछि ऊ सम्पर्क बिहिन भयो । मसंग २५ सय रुपैयाँ मात्रै थियो । त्यति पैसाले कहिलेसम्म होटलमा बस्ने ? त्यसैले टयाक्सी लिएर मैले काम गरिरहेको अफिसमा पुगें । अफिसको चाबी मसँग थियो । आफ्नो कामहरु सकेर त्यहीँ अफिसमा १५ दिनसम्म बिस्कुट र चिया पिएर बसेँ । त्यतिबेला घर जाने र आमासंग कुरा गर्ने हिम्मत आएन ।
मलाई छाडेर, आँउछु भन्दै गएको थियो प्रदिप । तर, एक्कासी उसलाई फेसबुकको वालमा केटीसँग रमाइलो गरेको, पार्टीमा गएको फोटोहरु देखेें । त्यसपछि मैले उसलाई तत्कालै फोन गर्दै फेसबुक आइडी मागेँ । उसले दिन मानिरहेको थिएन तर मैले धेरै कराएपछि दियो । उसको आइडी हेरें । केटीसँगको च्याट देखें । मलाई यस्तो अवस्थामा पुराएर फेरि अर्को केटीसँग बिहेको योजना बनाँउदै गरेको थाहा पाएँ । उसले ममाथि गरेको व्यवहार, धोकाले मलाई असहय पीडा भयो । अब मैले के गर्ने भन्ने कुरा दिमागमा आइरहेको थिएन । आफूमाथि शोषण भएको र आफूलाई प्रयोग गरेको रहेछ भन्ने थाहा पाएपछि म न्यायको लागि दौडधुप गर्न थालें । उसको परिवार र मामालाई पनि सबै कुराहरु बताउन खोजेकी थिएँ तर मेरो कुरा वास्ता नै गरेनन् । उसको मामाले उल्टै मलाई धम्की दिए । ‘म जस्ता त हजारौं केटीहरु छन् प्रदिपका र म पैसामा बिक्ने मान्छे हो’ समेत भनेपछि म चुपचाप रुँदै फर्किएँ ।
मलाई कहाँ जाने भन्ने पनि थाहा थिएन् । कसलाई भन्ने ? को सँग सहयोग माग्ने केही थाहा थिएन । त्यसैले नजिकै रहेका बौद्ध, चक्रपथ, कपन प्रहरी चौकीहरुमा गएँ । उनीहरुले महिलाको केस भएकाले प्रहरी परिसर टेकु पठाए । टेकुले पनि फेरि महिला सेल कालीमाटी पठायो । त्यहाँ पुगेर मैले जबरजस्ती करणीको जाहेरी दिएँ । प्रदिपको एउटा मामा डीएसपी थिए । उनको नाम सुरज कार्की हो । मैले जाहेरी दिएको थाहा पाएपछि डीएसपी मामाले पटकपटक मलाई पैसाको प्रलोभन दिए । उनले म बसेको ठाँउमा आएर नै मलाई ज्यान मार्ने धम्की दिए । त्यसपछि मैले भनेँ, ‘म मर्न तयार छु । प्रदिपले मेरो जिन्दगी, मेरो शरीर बर्बाद पारिदिएको छ र उसले सजाय पाउनुपर्छ ।’
जाहेरी दर्ता गर्ने ठाउँमा डीएसपी कार्कीले कालिमाटीस्थित एक प्रहरी अधिकारीलाई फोन गरेर ‘त्यो बलात्कार होइन, सहमतिमा भएको हो’ भनिदिए । त्यतिबेला म पनि त्यहीँ थिए । तर, मैले सबै प्रमाण र टाँका लगाएको बेलामा आफु माथि बलात्कार भएको भनेपछि दर्ता भयो ।
मैलै पैसा पनि नलिने र जाहेरी फिर्ता पनि नलिने भनेपछि डीएसपी मामा सेतो रंगको कारमा चढेर मेरो कोठामै आए । उनको हातमा पेस्तोल थियो । पेस्तोल खेलाउँदै उनले भने, ‘म तेरो भाइलाई जेल हालिदिन्छु । केटाहरु कसैलाई भन्यो भने तेरो भाइको ब्यागमा हेरोइन, चरेस हालिदिन्छन् र पुलिस केस गरेर जेलमा बस्छ । तेरो बहिनी पनि पढ्न जान्छे । साँझमा घर फर्कीने चान्स कमै होला नी । बाटोमा गाडीले हानेर दुर्घटना पनि हुनसक्छ ?’
साँझसम्म मुद्दा फिर्ता लिन उनले धम्कीपूर्ण अल्टिमेटम दिए । त्यसको भोलिपल्ट प्रदीपको बुवा, मामा (डिएसपी कार्की), मेरो साथी सुदर्शन थापा र प्रदीप आएर मेरो आमालाई अक्सिजनबाट निकालेर कालीमाटी लगे । त्यहाँ पुगेर मलाई कागजमा सिग्नेचर गर्न भने । त्यो के को कागज हो मलाई थाहा पनि थिएन् । मलाई त्यो धम्की र बिरामी आमाको अवस्थाले गर्दा नपढी हतारमा सिग्नेचर गरिदिएँ । त्यसपछि हामीलाई चाबहिलमा छाडिदिए ।
२०७६ साल जेठ १९ गते मलाई ठिमी लिएर गए । त्यहाँ म घरभित्रै थुनिएर बसें । मलाई कसैसंग बोल्न र बाहिर जान दिन्नथे । मंसिर २५ गते कसैलाई थाहा नदिई बुवा र मामाले प्रदीप र मेरो विवाह गराइदिए । मेरो एक दुईजना साथीहरु थिए र उनीहरुले फोटो खिचिदिए । म संग बिहेको फोटो पनि छ ।
विवाह पछिको पहिलो दशैं थियो । तर आफन्त बितेको र दशैं नमनाउने भनेर मलाई छाडेर सबै मन्थली गए । चाडपर्वको बेला एक्ले बस्न मनले मानेन् र म पनि आमाको घर गएँ । फेसबुक खोलेर हेर्दै थिएँ । प्रदिपको परिवारले रमाइलो गरेर दशैं मनाएको, टीका लगाएको फोटो देखें । मलाई उसले चिट गरिरहेको रहेछ ।
केही समयपछि प्रदिप बस्ने ठाउँमा पुगें । उ मन्थलीस्थित बसपार्कमा मनकामना एयरपोर्ट भ्यु होटलमा बस्ने गर्थ्यो । त्यो होटल उसको काकाको थियो । त्यहाँ दिनरात होटलको काम गर्थें । त्यतिबेला जेजस्तो भएपनि उसले राम्रै गरेको छ, छोरी मान्छे यस्तै हो भन्ने सम्झेर आफ्नो चित्त खुसी राखेँ । तर त्यति ठूलो १२/१४ जनाको परिवार भएपनि म संग कोहि बोल्दैनथे । उसको काका भने बोल्थे तर काकाका कुराहरु, उनका व्यवहार भने राम्रो थिएन । होटलको हरेक ठाँउमा सिसि क्यामरा थियो तर किचनमा थिएन् । काकाले एक्लै किचनमा भेटे भने प्राइभेट पार्टमा छुन खोज्ने, नराम्रा कुराहरु मात्रै गर्ने गर्थे । मैले प्रदीपलाई सबै कुरा भनेँ । त्यसपछि उसले आफ्नो बाआमा संगै बस्न भन्यो । बाआमाले तराईको फोहोर उठाउने केटी, सानो जातको केटी भनेर नराम्रो व्यवहार गर्थे । त्यहाँ बस्दाबस्दै म फेरि प्रेगनेन्ट भएँ । प्रदिपले फेरि बच्चा फाल्नुपर्छ भन्यो । मैले मानिनँ । ससुराले यस्ताले जन्माएको बच्चा हाम्रो हुँदैन । बच्चा जन्मायो भने गाडिदिन्छु भन्दै धेरै कराए तर मैले मानिन ।
एकदिन प्रदिप सेल्सका लागि ट्रक लिएर बाहिर गयो । उनीहरु ग्यास, किराना सामानहरु होलसेलमा बेच्ने गर्थे । म कोठामा थिएँ । दिउँसो ३ बजेतिर मेरो नन्द, ससुरा आए र उनीहरुले मिलेर मेरो घाँटी थिचेर औषधी खुवाए ।
मलाई बन्धक बनाएर राखिएको थियो । म बिरामी पनि थिएँ त्यसैले एकदिन भागेर तामाकोशी अस्पताल गएँ । त्यतिबेला लकडाउनको समय थियो । अस्पताल पुगेर मैले आफ्नो सारा कुराहरु बताएँ । डाक्टर केशव धामीलाई प्रहरी प्रशासन वा सुरक्षित ठाउँमा पुर्याइदिनु भनेर आग्रह गरें । उनले मलाई स्लाइन पानी दिए । डाक्टर धामीको र प्रदिपको परिवारमा राम्रो सम्बन्ध रहेछ । त्यसपछि काका ससुरा आए । शायद डाक्टरले बोलाएका थिए । काका आएर ‘तँ सानो जात, प्लास्टिक टिप्ने जात, महलमा लिएर राख्दा पनि हाम्रो बेइज्जत गर्ने’ भन्दै लिएर गए । घरमा लगे अनि कुटपिट गरे । रडले हाने । त्यसका डामहरु अझै जिउमा छन् ।
आफु कसरी सुरक्षित ठाँउसम्म पुग्ने भन्ने मात्रै सोच्थँे । मलाई मोबाइल दिइएको थिएन । एक दिन प्रदिपले आफ्नो मोबाइल चार्जमा छाडेर गएको थियो । मैले त्यही मौकामा जिल्लाको डीएसपी वसन्त पाठकलाई म्यासेज पठाएँ । उनी काकाको होटलमा आउने जाने भएकोले कुराकानी नभएपनि चिनेकी थिएँ । उनलाई म फलानोको बुहारी हुँ, ममाथि यस्तो यस्तो भएको छ, मलाई बचाउनुस् लेखेर म्यासेज गरें । उनले सहयोग गर्नुको सट्टा घरमा आएर भनिदिए ।
तामाकोशी अस्पताल लगेर मलाई डिप्रेसनमा गएको भनेर स्लिपिङ ट्याबलेट डबल डोज खुवाए । मलाई ट्याबलेट खुवाउन डाक्टर धामी पनि समलग्न थिए । मेरो एभोेसर्न गराउने औषधि पनि उनैले गैरकानुनी रुपमा प्रदीपको परिवारलाई दिएका थिए । डाक्टरले गरेको कुराकानीको रेकर्ड मसँग छ । उनले ‘यसलाई डबल डोज दिनू । यसलाई डिप्रेसन भएको छ’ भनेका थिए ।
मेरो विवाह दर्ता पनि गरिदिएका थिएनन् । उनीहरुले विवाह गर्ने र जाहेरीको हदम्याद कटेपछि मलाई केही पैसा दिएर घरबाट लखेट्ने योजना बनाएका थिए । पछि खै कसरी विवाह दर्ता बनेछ । उनीहरुले भनेको आधारमा नै विवाह दर्तामा सहीछाप गराइएको थियो । मैले वडा सचिवलाई विवाह दर्ता कसरी बन्यो सोधेकी पनि थिएँ । उनले परिवारका मान्छेले दबाब दिएको कारण बनाउनुपर्यो बताएका थिए ।
त्यसपछि प्रदीपले जिल्ला अदालतमा मानसिक तनाव दिएको भन्दै केस फाइल गर्यो । मानसिक तनाव दिएको, वैवाहिक बलात्कारमा मुद्दा हाल्छु भन्छे भन्दै मुद्दा हालेछ । उसको नाम चलेको ठूलो परिवार थियो । उसको मामा डिएसपी, ससुराको बुवा जय बहादुर कठायत भुपु सैनिक संघ रामेछापको जिल्ला सभापति त्यसपछि मैले न्याय पाउन त सम्भव नै थिएन् । डीएसपीमाथि अनुसन्धान गरियोस् भनेर प्रहरीको हेडक्वार्टरमा निवेदन पनि दिएँ ।
उनीहरुले मुद्दा हालेपछि मैले सम्बन्ध विच्छेद नगर्ने भनेँ । आर्थिक स्थिति थिएन । वकिल राख्न पनि सकिरहेकी थिइनँ । एउटा अभियानमा जाँदा सञ्जयराज अधिकारी भन्ने वकिल संग भेटघाट भयो र उहाँलाई बकपत्र बनाइदिनु भनेर रामेछापको जिल्ला अदालत लगेँ । तर, प्रदिपको परिवारले उनलाई भेटेपछि उनले केस राम्रोसँग हेरेनन् । अदालतका न्यायाधीश बद्रीप्रसाद वलीले इजलास भित्रै ‘तिमी राम्री छौ, अर्को बिहे गर, उमेर छ’ मात्रै भनिरहेका थिए । न्यायाधीश देखि लिएर सबैको व्यवहार देखेर न्याय नपाउने थाहा पाइसकेकी थिएँ । त्यसपछि प्रदिपको पक्षमा फैसला भयो ।
मैलै न्याय नपाए बाँच्नुको अर्थ छैन । यस्तो जिन्दगीको के काम भन्ने सोचेर विष लिएर गएकी थिएँ । जब प्रदिपको पक्षमा फैसला भयो तब मैलै इजलासकै अघि विष खाइदिएँ । मलाई त्यही न्यायाधीशको अगाडि मर्न मन थियो तर तत्कालै मलाई तामाकोशी अस्पतालमा लगियो । त्यहाँ सम्भव नभएपछि काठमाडौं ल्याए । काठमाडौंमा आएर १९ दिन आईसीयूमा राखियो । अब उच्च अदालतमा मुद्दा हाल्ने तयारीमा गर्दैछु । मलाई थाहा छ, उनीहरुले कानुन किन्न सक्छन् तर म चुपचाप बस्न सक्दिन । मैलै न्याय पाउनुपर्छ । उनीहरु ठूला मान्छे भनेर जेपनि गर्ने छुट उनीहरुलाई छैन् । मेरो शरीर काम नलाग्ने भयो । मेरो जिन्दगी खत्तम बनाइदिए । म माथि पेट्रोल हालेर जलाएपनि अब मलाई पीडा हुँदैन ।