ब्यूटी इन्डस्ट्रीबाट वृद्धि भइरहेको छ, पृथ्वीमा प्लास्टिकका थुप्राहरु

- पूजा राठी  

अनुवाद – फूलमती

सेल्फ केयरको नाममा प्रयोग हुने सौन्दर्य उत्पादनहरू प्रयोग गर्दा रंग चम्किलो हुन्छ, कपाल चम्किलो हुन्छ र अत्तरले वातावरण बास्नादार हुन्छ भन्ने दाबी गर्ने गरेको देखिन्छ । त्यही कारणले गर्दा सुन्दरता र हेरचाहको नाममा यस्ता उत्पादनहरूको विश्वव्यापी बजारमा ठूलो बजार छ । जसका कारण आम मानिसदेखि ठूला व्यक्तिको घरमा पनि रंगीन ट्युब, बोतल, पाउचहरु लाईन लागेर राखिएको देखिन्छ । प्लास्टिकबाट बनेको सौन्दर्य उत्पादनको खाली बोतलपछि कथाले अर्को मोड लिन्छ ।

मानिसको सौन्दर्य र सरसफाइलाई वृद्धि गर्छ भनी दाबी गर्ने उत्पादनका खाली बोतल, पाउच आदिले प्रकृतिको सौन्दर्य र सरसफाई दुवैलाई बिगार्ने काम गर्छ । द्रुत गतिमा बढिरहेको सौन्दर्य उद्योग र त्यसबाट निस्कने फोहोर आजको ठूलो समस्या बनेको छ । एक अनुमान अनुसार, विश्वव्यापी कस्मेटिक उद्योगबाट प्रत्येक वर्ष १२० बिलियन युनिट प्याकेजिङ उत्पादनहरू उत्पादन गरिन्छ, जसमध्ये धेरैजसो पुनः प्रयोग गर्न सकिँदैन । वैज्ञानिकहरुका अनुसार सन् २०५० सम्ममा पृथ्वीमा १२ बिलियन मेट्रिक टन प्लास्टिकको फोहोर हुनेछ ।

सन् १९६० देखि ठूलो मात्रामा प्लास्टिक उत्पादन सुरु भएको थियो । विश्वमा प्रयोग हुने प्लास्टिकहरुमध्ये ९ प्रतिशत मात्रै रिसाइकल हुन्छ । प्लास्टिक प्याकेजिङका टुक्राहरू ल्यान्डफिलमा छोडिन्छन् । तिनीहरूको माइक्रोप्लास्टिक टुक्राहरू समुद्रमा मिसिन पुग्छन् । सन् २०१८ मा मात्रै अमेरिकाले सौन्दर्य उत्पादनबाट ७.९ बिलियन फोहोर उत्पादन गरेको थियो ।

विश्वभर सौन्दर्य उद्योगको वृद्धि बढ्दै गएको छ । जसले वातावरणका लागि खतरनाक अवस्था सिर्जना गरिरहेको छ । सन् २०२० मा विश्वव्यापी कस्मेटिक बजार ३४१.१ बिलियन अमेरिकी डलर रहेको अनुमान गर्दै सन् २०३० सम्ममा बढेर ५६०.५० बिलियन अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । कस्मेटिक बजारको यो वृद्धिले प्रत्यक्ष रूपमा प्लास्टिक प्रदूषण बढाउन काम गर्नेछ । विद्यमान प्लास्टिकको २२–४३% फोहोर ल्याण्डफिलहरूमा समाप्त गरिन्छ र प्रत्येक वर्ष १०–२० मिलियन टन फोहोर समुद्रमा फालिन्छ ।

प्लास्टिक फोहोर किन बन्यो ठूलो समस्या
प्लास्टिक, वातावरण प्रदूषणको प्रमुख कारक हो । सिंगल युज (एकपटक मात्र प्रयोग हुने)प्लास्टिकलाई प्रदूषणको प्राथमिक स्रोत मानिन्छ । उपभोक्ताको रूपमा, हामीले हरेक वर्ष करिब आधा मिलियन प्लाष्टिक प्रयोग गर्छौं । यसको ठूलो हिस्सा पृथ्वीमा फोहोरको रूपमा छोडिन्छ । अमेरिकाले मात्रै प्रत्येक वर्ष ३ करोड टन प्लास्टिक फोहोर उत्पादन गर्छ । २०१० को एक अध्ययन अनुसार, बेलायतमा एक व्यक्तिले प्रति दिन औसत ०.२२किलोग्राम प्लास्टिक फोहोर उत्पादन गर्दछ ।

सेल्फ केयर उत्पादनहरूमा माइक्रोप्लास्टिक

प्लास्टिकको फोहोरमा खाली बोतल र उत्पादनका थैली मात्र होइन, माइक्रोप्लास्टिक अर्थात् पाँच मिलिमिटरको स–साना कणहरू पनि समावेश हुन्छन् । तिनीहरू कस्मेटिक्स, क्लीनिङग प्रडक्टसहरू, प्रशनल केयर प्रडक्टसहरू जस्तै टूथपेस्ट र साबुनमा प्रयोग गरिन्छ । सबै प्रविधिहरुको बाबजुद पानी फिल्टर प्रणालीहरू माइक्रोप्लास्टिकका टुक्राहरु फिल्टर गर्ने तरिकाले डिजाइन गरिएको छैन ।

पानीमा घुलनशील यी कणहरूले समुद्रलाई प्रदूषित गर्छन् । यी कणहरु माछा, चराहरू र समुद्री जनावरहरूमा पुग्छन् र हानि गर्छन् । त्यसपछि खाना श्रृङ्खलामार्फत मानिसभित्र पनि पुग्छन् । यी माइक्रोप्लास्टिकका कणहरूको सेवनबाट मानिसहरू स्वंयम उम्कन सकेका छैनन् । नखोलिएको बोतलको पानीमा यस्ता कण भेटिएका छन्, जसले क्यान्सरजस्ता डरलाग्दो रोगको कारण बन्न सक्छ । यति मात्र होइन, एक अनुसन्धानमा वैज्ञानिकहरूले वर्षामा समेत प्लास्टिकका साना कणहरू फेला पारेका छन् ।

नेचरमा प्रकाशित अनुसन्धानका अनुसार, वैज्ञानिकहरूले फ्रान्सको पाइरेनिस पहाडमा माइक्रोप्लास्टिकका स–साना कण, फाइबर र फिल्मस फेला पारेका छन् ।

भारतमा सौन्दर्य उत्पादनहरूबाट उत्पन्न हुने फोहोर
सौन्दर्यीकरण र सेल्फ केयरको नाममा भारत सौन्दर्य उत्पादनहरूको लागि एक उदीयमान बजार हो, जुन हरेक वर्ष द्रुत गतिमा बढेको देखिन्छ । सन् २०२१ मा भारत सौन्दर्य र सेल्फ केयर बजारमा उच्च राजस्व उत्पन्न गर्नेमा विश्वमा चौथो स्थानमा परेको छ । द मिन्टमा प्रकाशित लेखका अनुसार, सौन्दर्य व्यवसाय तीव्र गतिमा बढिरहेको छ । साथै ५०० अर्ब अमेरिकी डलर वा रु ३५.५ ट्रिलियनबाट बढेर २०२३ मा ८२० अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । यूरोमोनिटरको अन्तर्राष्ट्रिय अध्ययन अनुसार, भारत १४ अर्ब अमेरिकी डलरको बिक्रीका साथ विश्वमा आठौं स्थानमा छ ।

संसार होस् वा भारत, सौन्दर्य उत्पादनको बजार जति बढ्छ, वातावरणमा पनि त्यति नै नराम्रो असर पर्नेछ । फेमिनामा प्रकाशित एउटा लेखका अनुसार जिरो वेस्ट युरोपको अध्ययन अनुसार सन् २०१८ मा मात्रै भारतले १४२ बिलियन प्याकेजिङ्ग युनिट उत्पादन गरेको थियो । धेरै रिपोर्टहरूका अनुसार भारतमा प्याकेजिङ उद्योग तीव्र गतिमा बढिरहेको छ । भारतका हरेक ठूला कम्पनीले हरेक वर्गमा आफ्नो पहुँच बढाउन साना पाउच(उत्पादन थैली)मा सौन्दर्य उत्पादनहरू लन्च गरिरहेका छन्, जसका कारण सिंगल यूज प्लाष्टिकको फोहोर तीव्र गतिमा बढिरहेको छ ।

बिजनेश स्ट्यान्डर्डमा प्रकाशित एक लेखका अनुसार भारतमा पछिल्लो पाँच वर्षमा प्लास्टिकको प्रयोग दोब्बर भएको छ । प्रत्येक वर्ष यो वृद्धि देखिरहेको छ । प्लास्टिक फोहोर प्रति वर्ष २१.८ को दरले बढिरहेको छ । भारतमा सन् २०१८–१९ मा ३०.५९ लाख टन प्लास्टिकको फोहोर रहेको थियो भने सन् २०१९–२० मा ३४ लाख टन रहेको पाइएको थियो ।

समस्या समाधानका लागि गरिएका प्रयासहरु

प्लाष्टिकका बोतल र यसबाट बनेका अन्य वस्तुको खपत विश्वमा सबैभन्दा बढी छ । यो समस्यालाई गम्भिरतापूर्वक बुझेर विश्वव्यापी रुपमा चेतना फैलाउने र आवश्यक कदम चाल्ने दाबी पनि भइरहेको छ । यसका लागि, रिफिलिङ, प्याकेजिङ्ग सामग्रीमा परिवर्तन जस्ता तरिकाहरू छन् । जसमा प्लास्टिकको सट्टा इको–फ्रेन्डली प्याकेजिङ प्रयोग गर्न सकिन्छ । उत्पादनहरूमा परिवर्तन ल्याएर प्लास्टिकको फोहोरबाट बच्न सकिन्छ । स्याम्पुको तरल रूप भन्दा पाउडर वा साबुनको रूप बनाउनु राम्रो हो । यस्ता परिवर्तनहरू ल्याएर प्लास्टिक प्याकेजिङबाट जोगिन सकिन्छ । अर्कोतर्फ, प्लास्टिकका विकल्पहरू पूर्ण रूपमा पहुँचयोग्य हुन धेरै महत्वपूर्ण छ ।

भारतमा प्लास्टिक प्रतिबन्ध कति प्रभावकारी?

भारतमा प्लाष्टिकको फोहोरलाई रोक्नको लागि प्रतिबन्ध लगाउने योजनाहरु बनिरहन्छन् । केन्द्रदेखि प्रदेश तहसम्मका सरकारहरूले प्लास्टिक बन्द गर्न ठूलो आह्वान गरेको देखिन्छ । यति हुँदाहुँदै पनि राजधानी दिल्लीमा नै प्लाष्टिकका फोहोरका थुप्राहरु देखिएका छन् । पछिल्लो समय मुलुकमा एकपटक मात्र प्रयोग हुने प्लाष्टिकमाथि प्रतिबन्ध लगाइएको छ ।

सधैं सिंगल युज प्लाष्टिक प्रतिबन्धको घोषणा भएपनि नीतिहरुको अभाव प्रष्ट देखिन्छ । भारतजस्तो गरिब देशमा प्लाष्टिक निर्मुल गर्नको लागि जस्तो किसिमको नीतिहरुको आवश्यकता हो, त्यो प्रतिबन्ध घोषणाहरूबाट स्पष्ट रूपमा हराइरहेको छ । अर्कोतर्फ, यस्ता प्रतिबन्धहरू निम्न आय समूहका मानिसहरूका लागि समस्या बन्छ । यसको सबैभन्दा बढी मार साना उद्योगीले भोग्नु परेको छ । उनीहरुमाथि आर्थिक भार परेको छ ।

पर्यावरणमैत्रीको नाममा सञ्चालित बजार निकै सीमित सुविधाप्राप्त वर्गसम्म पुगेको छ । यसले प्रतिबन्ध भन्दा अघि अन्य विकल्प नल्याउने सरकारको नियतलाई देखाउँछ ।