
काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले बालेन्द्र शाह नेतृत्वको सरकारको आलोचना गर्दै शिक्षा, स्वास्थ्य, राष्ट्रिय स्वाधीनता तथा जनजीविकासँग सम्बन्धित विषयमा पाँचबुँदे माग सार्वजनिक गरेको छ। संगठनले आफ्ना माग तत्काल सम्बोधन नगरिए देशव्यापी सशक्त विद्यार्थी आन्दोलन सुरु गर्ने चेतावनी समेत दिएको छ।
संगठनका उपाध्यक्ष डीबी बुढाथोकी र महासचिव उषाकिरण आजाद कामीद्वारा जारी संयुक्त प्रेस विज्ञप्तीमा सरकारले विद्यार्थी र आमनागरिकको हितविपरीत निर्णयहरू गर्दै गएको आरोप लगाइएको छ। विज्ञप्तीमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा कर लगाउनु, राष्ट्रिय स्वाधीनतामा असर पर्ने निर्णय गर्नु तथा जनताका आधारभूत अधिकारमाथि हस्तक्षेप गर्नु सरकारको जनविरोधी कार्य भएको उल्लेख गरिएको छ।
अखिल (क्रान्तिकारी)ले नेपालले अवलम्बन गर्दै आएको एक चीन नीतिविपरीत दलाई लामाको जन्मदिन मनाउन अनुमति दिइएको भन्दै त्यसप्रति आपत्ति जनाएको छ। साथै, नाम्गेल स्कुल तत्काल बन्द गर्न सरकारसँग माग गर्दै त्यसो नभए संगठन आफैंले बन्द गराउने चेतावनी दिएको छ।
त्यस्तै, सरकारले प्रचलनमा ल्याउने सिक्काबाट नेपालको नक्सा हटाउने निर्णयलाई राष्ट्रघाती भन्दै उक्त निर्णय तत्काल फिर्ता लिन माग गरिएको छ। आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत शिक्षा समता शुल्कका नाममा लगाइएको शिक्षा कर, स्वास्थ्य सेवा, राइड सेयरिङ तथा विद्युतमा लगाइएका कर तत्काल खारेज गर्नुपर्ने माग पनि संगठनले अघि सारेको छ। साथै शिक्षा र स्वास्थ्य सेवा पूर्ण रूपमा निःशुल्क हुनुपर्ने धारणा व्यक्त गरिएको छ।
वक्तव्यमा सुकुम्बासीमाथि सरकारले अपनाएको व्यवहारको आलोचना गर्दै उनीहरूको उचित व्यवस्थापन, घरबारको व्यवस्था तथा बालबालिकाको अध्ययन–अध्यापन सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ।
यसैबीच, बालेन्द्र नेतृत्वको सरकार गठन भएको १०० दिनभित्र चार जना आत्मदाह गर्न बाध्य भएको उल्लेख गर्दै संगठनले गणेश नेपालीसहित सबै पीडित घटनाको जिम्मेवारी राज्यले लिनुपर्ने र पीडित परिवारको उचित व्यवस्थापन गर्नुपर्ने माग गरेको छ।
अखिल (क्रान्तिकारी)ले आफ्ना पाँचबुँदे माग तत्काल कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्दै बेवास्ता गरिए देशव्यापी विद्यार्थी आन्दोलनको घोषणा गर्ने चेतावनी दिएको छ।
