
काठमाडौं । गोकर्णेश्वर नगरपालिका-८ माकलबारीमा एक युवतीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरेकी छन् । काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-३ स्थायी घर भई हाल बौद्ध बस्दै आएकी २७ वर्षीया सालु गुरुङले राति करिब २ः५० बजे आत्मदाहको प्रयास गरेकी हुन्।
उनलाई तत्काल उद्धार गरी साँखुस्थित शुस्मा कोइराला मेमोरियल अस्पतालमा लगिएको थियो । त्यसपछि थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।
अस्पतालकी निर्देशक डा. किरण नकर्मीका अनुसार गुरुङको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको छ। गुरुङको शरीरको अनुहार, छाती र दुवै हातमा गरी अन्दाजी ५० प्रतिशत भाग जलेको डा. नकर्मीले जानकारी दिइन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा आत्मदाह प्रयासको कारण घरायसी झै-झगडा देखिए पनि घटनाको अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।