
काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित एक गेष्ट हाउसमा युवतीको हत्या गर्नेको पहिचान खुलेको छ । काठमाडौं प्रहरीले हत्यामा संलग्न आरोपित पक्राउ परिसकेको जानकारी दिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्तासमेत रहेका एसपी पवनकुमार भट्टराईका अनुसार आइतबार बिहान गेष्टहाउसको पलङभित्र मृत अवस्थामा भेटिएको युवतीको हत्यामा संलग्नताको आशंकामा दुई व्यक्ति पक्राउ परिसकेका छन् । घटनामा २ जनाकै संलग्नता थियो कि एक जनाको मात्रै संलग्नता हो भन्ने खुलिसकेको छैन । यद्यपि एक जनाले भने अपराध स्वीकार गरेको बुझिएको छ ।
आइतबार नयाँ बसपार्कस्थित एक गेष्ट हाउसमा कैलालीको धनगढी नगरपालिका ७ घर भई माछापोखरीमा बस्दै आएकी निशा सुनुवारको शव भेटिएको थियो । गेष्टहाउसको एक कोठाको पलङभित्र गन्ध आइसकेको अवस्थामा शव भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । घटनाको प्रकृति हेर्दा उनको हत्या भएको प्रहरीले बताएको थियो ।
गेस्ट हाउसको कर्मचारीले कोठा सफा गर्ने क्रममा गन्ध आएपछि पलङभित्र हेर्दा युवतीको शव भेटिएको थियो । त्यसलगत्तै प्रहरीलाई खबर गरी घटनास्थलमा प्रहरी पुगेको थियो । प्रारम्भिक अनुसन्धानमा उक्त होटेलमा निशा एक युवकसहित पुगेको पाइएको थियो । त्यसपछि प्रहरीले ती युवकसहित अन्य ५ जनालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको थियो ।
असार २८ गतेदेखि नै निशा उक्त गेष्ट हाउसमा बस्ने गरेकी थिइन् । होटेलको कोठासमेत एक युवकको नाममा बुक गरिएको पाइएको थियो । प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरूको सम्बन्धमा केही पनि खुलाएको छैन । अहिले अदालतबाट थप अनुसन्धानका लागि म्याद लिएर आरोपितलाई सार्वजनिक गर्ने तयारी गरिएको छ ।
हत्याको कारणसमेत प्रहरीले हालसम्म बताएको छैन ।