
काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिका-९ स्थित सुकुरदुङमा सडकमाथिबाट खसेको पहिरोले पर्यटक बोकेको स्कर्पियो आंशिक रूपमा पुरिएको छ।
सालझण्डी-ढोरपाटन सडकअन्तर्गत बुर्तिबाङ-ढोरपाटन खण्डको सुकुरदुङमा सोमबार राति अचानक खसेको पहिरोले ग १ य ९८२ नम्बरको स्कर्पियोलाई पुरेको हो।
ढोरपाटनतर्फ पर्यटक लिएर गइरहेको उक्त स्कर्पियोको अगाडिको भाग पहिरोले पुरिएको ढोरपाटन नगरपालिकाका सूचना अधिकारी प्रकाश गैरेले जानकारी दिए। उनका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन र गाडीमा सवार सबै यात्रु सकुशल रहेका छन्।
पहिरोमा पुरिएको सवारीसाधनलाई मेसिनको प्रयोग गरी निकाल्ने प्रयास भइरहेको पनि सूचना अधिकारी गैरेले बताए।