घरायसी विवादपछि बन्जिसाइड भिरबाट हाम फालेका युवकको शव सशस्त्रद्वारा उद्धार

दियोपोस्ट संवाददाता

पर्वत । पर्वतको कुश्मा नगरपालिका-५ स्थित बन्जिसाइड भिरबाट हाम फालेका एक युवकको शव बाहिर निकालिएको छ । सशस्त्र प्रहरीले रोप रेस्क्यु प्रविधिको प्रयोग गरी शव सुरक्षित रूपमा बाहिर निकालेको हो ।

बागलुङ नगरपालिका-१४ नारायणस्थान निवासी ३३ वर्षीय दीपेन्द्र नेपालीले साउन ४ गते राति करिब ९ बजे उक्त भिरबाट हाम फालेका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ चण्डिका गण, पर्वतबाट खटिएको टोलीले सोही रातिदेखि खोजी अभियान सञ्चालन गरेको थियो। तर घटनास्थल अत्यन्तै गहिरो तथा जोखिमयुक्त भिर भएकाले रातिको खोजी कार्य स्थगित गरी मंगलबार बिहान पुनः अभियान सुरु गरिएको थियो।

विपद् व्यवस्थापनसम्बन्धी तालिम प्राप्त सशस्त्र प्रहरीको टोलीले मंगलबार बिहानदेखि पुनः खोजी थालेको थियो। सोही क्रममा बिहान करिब ७ बजे भिरबाट करिब १ सय ३० मिटर तल युवकको शव फेला परेको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सामान्य घरायसी विवादपछि दीपेन्द्र नेपालीले आत्महत्याको उद्देश्यले भिरबाट हाम फालेको खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

सिफारिस