
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न तनावपूर्ण सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रभावित क्षेत्रका शैक्षिक संस्थाहरू बन्द गरिएका छन् ।
आइतबार भएको झडपमा एक जनाको मृत्यु तथा अन्य नौ जना घाइते भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रभावित क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु जारी गर्नुका साथै निषेधाज्ञा लागू गरेको थियो । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म विद्यालय तथा अन्य शैक्षिक गतिविधिसमेत स्थगित गरिएको जनाइएको छ ।
प्रशासनले अभिभावक, विद्यार्थी तथा सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न, कफ्र्यु र निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गरेको छ । प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको परिचालन गरी सुरक्षा व्यवस्था थप सुदृढ बनाइएको छ ।
घटनाको विरोधमा सोमबार विराटनगरमा समेत प्रदर्शन भएको छ । यद्यपि विराटनगर महानगरपालिकाको शिक्षा महाशाखाले विद्यालय बन्द गर्ने औपचारिक निर्णय नगरे पनि सुरक्षा अवस्था र यातायातमा आउन सक्ने अवरोधलाई ध्यानमा राख्दै अधिकांश विद्यालयले आफ्नै निर्णयमा पठनपाठन स्थगित गरेका छन् ।
कप्तानगञ्ज घटनापछि सुनसरीको दक्षिणीेगमा क्षेत्रमा अझै त्रासको वातावरण कायम रहेको छ । घटनाप्रति शोक व्यक्त गर्दै देवानगञ्ज र हरिनगर गाउँपालिकाले सार्वजनिक बिदा घोषणा गरेका छन् । प्रदर्शन तथा सुरक्षा अवस्थालाई ध्यानमा राख्दै ती स्थानीय तहका शैक्षिक संस्थाहरु मंगलबार पनि बन्द रहेका छन् ।
यसैबीच, सम्भावित अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा सुरक्षा निगरानी थप कडा बनाएको जनाएको छ ।