
सुनसरी । सुनसरी देवानगञ्जमा भएको हिंसात्मक घटनापछि मंगलबार बिहान दुहवीमा सामाजिक र्याली निकालिएको छ । र्याली सामाजिक एकता, सहिष्णुता र आपसी सम्मान कायम गर्न माग गर्दै निकालिएको हो ।
सामाजिक एकता, सहिष्णुता र आपसी सम्मान कायम गर्नुपर्ने सन्देशसहित आयोजित र्यालीमा दुहवी क्षेत्रका विभिन्न सामाजिक संघसंस्था, नागरिक समाजका अगुवा तथा स्थानीयवासीको सहभागिता रहेको थियो । र्यालीले दुहवी बजार परिक्रमा गर्दै शान्ति, सद्भाव र भाइचाराको सन्देश प्रवाह गरेको थियो।
र्यालीका सहभागीहरूले देवानगञ्ज घटनाका दोषीलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् । साथै, यस्ता हिंसात्मक घटना पुनः दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था र आवश्यक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको थियो ।
राष्ट्रिय झन्डा बोकेर सहभागी भएका स्थानीयले जात, धर्म, भाषा र समुदायबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको भावना बलियो बनाउन सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।