ग्लोबल आइएमईले ल्यायो नागरिक एपबाटै खाता खोल्ने सुविधा, बैंक जाने झन्झट सकियो

दियोपोस्ट संवाददाता

काठमाडौँ । खाता खोल्न बैंकमै जानुपर्ने र अनेकन् फारम भर्नुपर्ने झन्झटबाट अब मुक्ति मिल्ने भएको छ । ग्लोबल आइएमई बैंकले अब नागरिक एपबाटै खाता खोल्न सकिने सुविधा उपलब्ध गराउन थालेको छ ।

नेपालको डिजिटल बैंकिङ क्षेत्रमा ऐतिहासिक कदम चाल्दै ग्लोबल आइएमई बैंकले सरकारी डिजिटल पहिचान एप्लीकेसन ‘नागरिक एप’ सँग सहकार्य गर्दै अब नागरिक साझेदारीमा खाता खोल्ने सेवा सार्वजनिक गरेको छ । यससँगै नेपाली नागरिकले अब राष्ट्रिय परिचयपत्रको आधारमा घरमै बसेर व्यक्तिगत बचत खाता खोल्न सक्ने भएका छन् ।

बैंकले सोमबार सार्वजनिक गरेको नयाँ सेवाअन्तर्गत १८ वर्ष वा सोभन्दा माथिका र नागरिक एपमा आबद्ध नेपाली नागरिकले ग्लोबल आइएमई बैंकको वेबसाइटमा रहेको क्युआर कोड स्क्यान गरी खाता खोल्न सक्नेछन् । यसका लागि बैंकले https://nagarik.gibl.com.np लिंकमार्फत् सेवा उपलब्ध गराउने जनाएको छ ।

तथ्यांक आफै बैंकिङ सिस्टममा जाने, फारम भर्नु नपर्ने
ग्लोबल आइएमई बैंकले ल्याएको यो सेवाको मुख्य विशेषता भनेको बैंकले नागरिक एपमा आबद्ध व्यक्तिको पूर्व सहमति लिई खाताका लागि आवश्यक व्यक्तिगत विवरण प्रत्यक्ष रूपमा नागरिक एपबाट सोझै बैंकले प्राप्त गर्नु रहेको छ । यसअघि सरकारी तथ्यांक वा कार्यमा मात्रै प्रयोगमा ल्याइएको यो सेवा अब बैंकको खाता खोल्ने कार्यमा पनि सुरुवात भएको हो ।

राष्ट्रिय परिचयपत्रको फारम भर्दा उपलब्ध गराइएको तीन पुस्ते विवरण, स्थायी र अस्थायी ठेगाना, सम्पर्क नम्बर, तस्बिर आदि सबै अब सोझै बैंकिङ सिस्टममा जानेछ । त्यसका लागि आवेदकले पूर्व अनुमति भने दिनु पर्ने छ, जुन नागरिक एपमार्फत नै हुने ग्लोबल आइएमई बैंकले जनाएको छ ।

बैंकले यसरी खाता खोल्दा व्यक्तिगत विवरण पहिलेको भन्दा पनि गोप्य रहने र ग्राहकले झन्झट ब्यहोर्नु नपर्ने जनाएको छ ।

ग्लोबल आइएमई बैंकले भनेको छ, ‘यस साझेदारीले डिजिटल पूर्वाधारको उपयोग गर्दै सुरक्षित, सरल तथा भरपर्दो डिजिटल बैंकिङ सेवाको विस्तारलाई नयाँ उचाइ दिएको छ ।’

भिडियो केवाइसी र शाखामार्फत सक्रियता
खाता खोल्ने प्रक्रिया पूर्ण डिजिटल भए पनि यसलाई सञ्चालनमा ल्याउन ग्राहकले एक पटक आफ्नो नजिकको शाखा कार्यालयमा गएर वा त्यो पनि सम्भव नभएमा भिडियो केवाइसी (Know Your Customer) मार्फत प्रमाणीकरण भने गर्नुपर्नेछ । यो व्यवस्थाले नियामकीय मापदण्डको पालना गर्दै ग्राहकको सुरक्षालाई थप प्राथमिकता दिइएको बैंकले जनाएको छ ।

डिजिटल डाटाबेसको प्रयोगको सुरुवात
यस सेवाले सरकारी डिजिटल पूर्वाधारको व्यावसायिक उपयोगलाई प्रयोगमा ल्याउन थालेको छ । ग्लोबल आइएमई बैंकले खाता खोल्ने प्रक्रियालाई थप सहज, पारदर्शी तथा प्रविधिमैत्री बनाउनुका साथै ग्राहकलाई आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने यो सेवाको सुरुवात गरिएको दाबी गरेको छ ।

नेपालकै अग्रणी बैंकका रूपमा स्थापित
ग्लोबल आइएमई बैंक डिजिटल बैंकिङमा मात्र नभई नेपालको समग्र बैंकिङ क्षेत्रमा पनि उत्कृष्ट रहेको बैंकले दाबी गरेको छ । बैंकले ‘बैंक अफ द इयर, २०१४’, ‘बेष्ट इन्टरनेट बैंक, २०१६’ देखि लिएर सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक अफ नेपाल’ को उपाधि हासिल गरेको छ । यसैगरी बैंकले युरोमनी अवार्ड फर एक्सिलेन्स, २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल, २०२४ र बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार समेत प्राप्त गरेको थियो ।

७७ जिल्लामै सेवा, १ हजार सेवा केन्द्र
ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल बिस्तार गर्ने पहिलो निजी वाणिज्य बैंक समेत हो । हाल बैंकले ३४२ शाखा कार्यालय, ३६८ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित कुल १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।

यसबाहेक बैंकले अमेरिका, युके, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई र भारतलगायतका देशबाट औपचारिक माध्यममार्फत रेमिटेन्स भित्राउन समेत महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

सम्बन्धित खबर

सिफारिस