एमबीएस परीक्षाको प्रश्नपत्र लिक गर्ने थप दुई पक्राउ

दियोपोस्ट संवाददाता
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सेमेस्टरको परीक्षाको प्रश्नपत्र गोपनीयता भंग गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यसअघि नै यो प्रकरणमा संलग्न केही व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाइरहेको अवस्थामा रौतहट र पर्साबाट थप दुई जना पक्राउ परेका हुन् ।
सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी एसएसपी अनुपम शमशेर जबराका अनुसार पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका–४ का २५ वर्षीय अतुल कुमार मिश्र र बाराको लिपनीमाल–१ घर भई हाल पर्साको वीरगन्ज महानगरपालिका–२१ मा बस्दै आएका ३१ वर्षीय अब्दुल सानि हाकिम रहेका छन् ।
सिआइबीका अनुसार अतुल कुमार मिश्रलाई साउन १० गते काठमाडौंको ताहाचलबाट र अब्दुल सानि हाकिमलाई साउन ११ गते वीरगन्ज–८, पर्साबाट पक्राउ गरिएको हो । यी दुवै जनालाई शिक्षा ऐन, २०२८ अन्तर्गतको कसूर (प्रश्नपत्रको गोपनीयता भंग) मा संलग्न रहेको आरोपमा सम्मानित अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघिनै दुई जना पक्राउ, संलग्नता नदेखिएपछि छुटेका थिए  । एक जना एमबीएसको प्रश्नपत्र लिक गरेको कसूरमा प्रहरीले यसअघि नै तीन जनालाई पक्राउ गरिसकेको छ । गत साउन ८ गते भएको त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत सञ्चालित एमबीएस प्रथम सेमेस्टरको परीक्षा सुरु हुनुअघि नै प्रश्नपत्र बाहिरिएको थियो ।
परीक्षा सुरु हुनुअघि नै उक्त विषयको प्रश्नपत्र विभिन्न ह्वाट्सएप र भाइबर समूहमा पठाएर गोपनीयता भंग गरिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
प्रश्नपत्र बाहिरिएको सूचना पाएलगत्तै सीआईबीले साउन ८ गते नै काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा परीक्षार्थी र बिचौलिया रहेका थिए । तर पक्राउ परेका एक जनाको संलग्नता नदेखिएपछि उनलाई रिहा गरी एक जनालाई प्रहरी हिरासतमै राखी अनुसन्धान सुरु गरिएको थियो ।
प्रारम्भिक अनुसन्धानमा प्रश्नपत्र केही परीक्षार्थीहरूले सामाजिक सञ्जालमा हालेको खुल्न आएको थियो । पहिलो चरणमा पक्राउ परेकाहरूको बयानको आधारमा अनुसन्धानलाई विस्तार गर्दै सीआईबीले अहिले थप दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरीले प्रश्नपत्र बाहिरिनुमा परीक्षार्थी वा केन्द्रका व्यक्तिहरुको संलग्नता छ कि परीक्षार्थीको मात्रै भन्ने सम्बन्धमा अनुसन्धान गरिरहेको छ । प्रहरीले यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी गरिरहेको र दोषीमाथि शिक्षा ऐन, २०२८ अनुसार कडा कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ । यस घटनापछि त्रिभुवन विश्वविद्यालयले पनि परीक्षाको गोपनीयता र सुरक्षामा थप कडाइ गर्ने तयारी गरेको बताइएको छ ।

सम्बन्धित खबर

सिफारिस