२४ घण्टामा ४२ वटा विपद्का घटना, १० जिल्ला प्रभावित

दियोपोस्ट संवाददाता

काठमाडौं । एकै दिन देशका विभिन्न भागमा विभिन्न प्रकारका विपद्का ४२ वटा घटना भएका छन् । ती घटनामा परी तीन जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साउन ११ गते बिहान १० बजेदेखि साउन १२ गते बिहान १० सम्मको विवरणअनुसार विपद्का घटनाबाट १० जिल्ला प्रभावित भएका छन् । यो अवधिमा तीन जनाको मृत्यु भएको, २१ जना घाइते भएको र कोही पनि बेपत्ता नभएको प्राधिकरणले जनाएको छ ।

सबैभन्दा बढी १२ वटा सर्पदंशका घटना भएका, १२ वटा पहिरो, सात आगलागी, छ अविरल वर्षा, तीन जनावर आक्रमण, एक बाढी र एक भूकम्पको घटना भएका छन् ।

ती घटनाका कारण करिब नौ लाख २२ हजार ५०० बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।