
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जसले गर्दा आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।
आज दिउँसो देशका हिमाली भू-भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ । पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।
साथै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ ।
त्यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेका छ ।
आज राति भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । हिमाली भू-भागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपात, पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा तराईका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रमा सतर्क रहन मौसमविद्ले सुझाव दिएका छन् ।