
काठमाडौँ । शोभा पाठकलाई अश्लील गाली गर्दै कमेन्ट गरी म्यासेज समेत पठाएको आरोपमा साइबर अपराधको मुद्दा दायर भएका मंगल थापा १० हजार धरौटीमा रिहा भएका छन् । साउन १२ गते काठमाडौं जिल्ला अदालतले थापालाई १० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
गत असार ११ गते साइबर अपराधको कसुरमा शोभा पाठकको जाहेरीका आधारमा मंगल थापा भन्ने मंगल बहादुर थापाविरुद्ध साइबर ब्युरोले विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा चलाएको थियो ।
मौकामा फरार रहेका मंगल थापा मंगलबार काठमाडौं जिल्ला अदालतमा उपस्थित रही बयान दिएका थिए । बयानपछि न्यायाधीश उमानाथ गौतमको इजलासले थापासँग १० हजार रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो ।
अदालतको आदेश बमोजिम १० हजार रुपैयाँ धरौटी बुझाएर आफू अहिले बाहिर रहेको थापाले दियोपोस्टलाई बताए । थापाले आफूले जाहेरवालीलाई कुनै म्यासेज नगरेको र उक्त आइडी आफ्नो नरहेको समेत बताए ।
थापाले दियोपोस्टसँग भने, ‘उक्त आइडी नै मेरो होइन । फेक आइडीबाट कस कसले के के लेख्छ, के के म्यासेज पठाउँछ मलाई थाहा हुने कुरा भएन । उक्त आइडी मेरो होइन र कारबाही गरिपाऊँ भनेर मैले २०८० मङ्सिर मै साइबर ब्युरोमा निवेदन दिइसकेको छु ।’
थापाले भने, ‘मेरो नाममा अरू कसैले फेसबुक चलाएर जाहेर वाली लगायतका अन्य व्यक्तिलाई पनि बारम्बार म्यासेज पठाएको, गाली गरेको भन्ने कुरा मैले सुनेको छु, आफूले गर्दै नगरेको गल्तीमा पटक पटक दुख पाएको छु ।’
के थियो अभियोग ?
नेकपा एमाले समर्थित युवा संघका नेता रहेका मंगल बहादुर थापाले शोभा पाठकविरुद्ध अश्लील र आपत्तिजनक म्यासेज गरेको, कमेन्ट गरेको लगायतका आरोप थियो । मंगल थापाको नामबाट चलिरहेको फेसबुक आइडीबाट शोभा पाठकलाई पटक पटक भालू, बाइफाले तेरो आमालाई …. लगायतका आपत्तिजनक म्यासेज पठाइएको पाइएको थियो ।
प्राविधिक विश्लेषणमा के पाइयो ?
साइबर ब्युरोको अनुसन्धानका क्रममा प्रतिवादी मंगल बहादुर थापाले फेसबुक प्रोफाइल (https://www.facebook.com/mangal.thapa.752861) मार्फत पीडितलाई ‘ड्राइभर कन्डक्टर र सामान्य मान्छेहरूलाई पेशा गर्दै ठग्दै अगाडि बढेकी बाइफाले आफ्नो पहुँच एकजना मधेशी मूलको पूर्व राज्य मन्त्रीको पिए हुँ भन्दै ठुलो नेताहरू भारतका मान्छेहरू उच्च तहका प्रहरी प्रशासनहरूसँग सम्बन्ध पुर्याउन सफल हुन्छे, Oye Bh..lu, R..di, Teri aama lai Ch…. Mardinxoo… जस्ता विभिन्न अपमानजनक र अश्लील शब्दहरू प्रयोग गरी म्यासेज पठाएको पाइयो ।
साइबर ब्युरोको अनुसन्धानमा पीडितले दिएको जाहेरी दरखास्तमा उल्लेख भएको मोबाइल नम्बर ९८५११०XXX९ मंगल थापाकै रहेको कारणबाट उक्त फेसबुक आइडी पनि मंगल थापाकै रहेको दाबी गरिएको थियो । जाहेरीसाथ उक्त आइडीबाट आएका म्यासेजका स्कृनसटहरु पनि प्रहरीमा बुझाइएको थियो । अनुसन्धानपछि साइबर ब्यूरोले प्रतिवादीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम कसुर गरेको निष्कर्ष निकाल्दै अभियोग पत्र दायर गरेको थियो ।
५ वर्षसम्म कैदको मागदाबी
विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) मा ‘कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबिचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय’ हुने व्यवस्था छ ।
सोही व्यवस्थाअनुसार मंगल बहादुर थापालाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन मागदाबी लिई अभियोग पत्र पेस गरिएको थियो ।

अदालतले थापालाई १० हजार रुपैयाँ धरौटी लिई रिहा गर्न दिइएको आदेशमा उक्त आइडी मंगल बहादुर थापाले प्रयोग गरिरहेको हो कि होइन लगायतका विषय भने खुली नसकेको भन्दै अहिले नै निर्दोष हुन् भन्न नसकिने भनिएको छ ।
यद्यपि थापाले भने उक्त आइडी आफ्नो नभएको र आफूलाई फसाउन कसैले जानीजानी यस्तो कार्य गरेको आरोप लगाएका छन् ।