एक अर्ब ८९ करोड हुन्डी कारोबार गरेको आरोपमा धादिङका राजेन्द्र प्रसाद रिजाल पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । एक अर्ब ८९ करोड रुपैयाँको अवैध हुन्डी कारोबार गरेको आरोपमा धादिङका राजेन्द्र प्रसाद रिजाल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एक अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४ सय ५४ रुपैयाँ बराबरको हुन्डी कारोबार गरेको आरोपमा धादिङका राजेन्द्र प्रसाद रिजाललाई पक्राउ गरेको हो ।

सिआइबीका प्रवक्ता समेत रहेका एसएसपी अनुपम शमशेर जबराका अनुसार हुन्डी कारोबार भइरहेको गोप्य सूचनाका आधारमा अनुसन्धान गर्दा ठुलो परिमाणको हुन्डी कारोबारको पर्दा खुलेको हो । सूचनाका आधारमा रिजालको बैंकिङ कारोबारको विश्लेषण गर्दा अन्य व्यक्तिहरूसँगको मिलेमतोमा व्यक्तिगत खाता प्रयोग गरी एक अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४५४ रुपैयाँ बराबरको हुन्डी कारोबार गरेको पाइएको हो ।

हुन्डी कारोबारमा संलग्नता देखिएपछि अनुसन्धानका लागि सिआइबीको काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो ।

रिजाललाई साउन १२ गते काठमाडौँकै नागार्जुन नगरपालिका–८, राधाकृष्ण मन्दिर क्षेत्रबाट पक्राउ गरिएको सिआइबीले जनाएको छ । उनी धादिङको साबिक सत्यदेवी गाविस ८ घर भई हाल नागार्जुन ८ मा बस्दै आएका थिए ।

प्रारम्भिक अनुसन्धानमा रिजाल सामान्य भाडाका व्यापारी रहेको तथा रसियामा रहेका नेपालीहरूको रकम अवैध च्यानलबाट नेपाल ल्याउने कार्यमा संलग्न देखिएको प्रहरी स्रोतले बताएको छ ।

पक्राउ परेका रिजालविरुद्ध हुन्डी कारोबार गर्न नहुने कसुरमा थप अनुसन्धान अघि बढाएको सिआइबीले जनाएको छ ।

के हो हुन्डी कारोबार ?
हुन्डी भनेको अनौपचारिक माध्यमबाट गरिने विप्रेषण कारोबार हो, जुन नेपालमा कानुन विपरीतको कार्य हो । यसले मुलुकमा विदेशी मुद्राको अभाव निम्त्याई शोधनान्तर सन्तुलनमा नकारात्मक असर पार्नुका साथै सम्पत्ति शुद्धीकरण र कर छलीजस्ता आर्थिक अपराधमा समेत सहयोग पुराउने गरेको अनुसन्धानहरूले देखाएको छ । नेपालमा करिब २५ प्रतिशत रेमिटेन्स अनौपचारिक माध्यम अर्थात् हुन्डीबाटै आउने गरेको अनुमान गरिएको छ ।