
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि संवेदनशील क्षेत्रको निगरानी बढाउन प्रहरीले काठमाडौंबाट ड्रोन परिचालन गरेको छ।
प्रभावित क्षेत्रका केही भित्री बस्तीमा सुरक्षाकर्मी तत्काल पुग्न कठिन भएपछि ती स्थानको अवस्थाबारे निगरानी गर्न प्रहरी प्रधान कार्यालयमा रहेको ड्रोन मंगलबार राति नै सुनसरी पठाइएको हो ।
मंगलबार साँझ दुई समुदायबीच ढुंगामुढा भएपछि अवस्था तनावग्रस्त बनेको थियो। त्यसपछि प्रहरीले सुनसरीसँगै आसपासका जिल्लाबाट थप सुरक्षाकर्मी परिचालन गरी प्रभावित क्षेत्रमा सुरक्षा घेरा बलियो बनाएको छ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार ड्रोनमार्फत संवेदनशील स्थानको निरन्तर निगरानी, शंकास्पद गतिविधिको पहिचान तथा सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राखिएको छ।