अब विदेश जानुअघि कामको विस्तृत विवरण अनिवार्य बुझाउनुपर्ने

दियोपोस्ट संवाददाता

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले अब विदेश जानुअघि आफूले गर्ने कामको विस्तृत जानकारी पाउने भएका छन् । युवा, श्रम तथा रोजगार मन्त्रालयले माग प्रमाणीकरण प्रक्रियालाई थप पारदर्शी र व्यवस्थित बनाउन यस्तो नयाँ व्यवस्था लागू गरेको हो ।

साउन १३ गते मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले वैदेशिक रोजगारीका लागि माग प्रमाणीकरण गर्दा कामको नाम मात्र उल्लेख गरेर नपुग्ने व्यवस्था गरेको छ । अबदेखि रोजगारदाताले श्रमिकले विदेशमा गर्नुपर्ने कामको प्रकृति, जिम्मेवारी र कार्यक्षेत्र स्पष्ट रूपमा खुलाउनुपर्नेछ ।

नयाँ व्यवस्थाअनुसार काम कम्पनीभित्र हुने (इनडोर) हो वा कम्पनीबाहिर गर्ने (आउटडोर) भन्ने विवरण पनि अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ । यदि श्रमिकले दुवै प्रकारका काम गर्नुपर्ने भए त्यसको कार्यसमय र जिम्मेवारी छुट्टाछुट्टै उल्लेख गरेर मात्र माग प्रमाणीकरण गरिने मन्त्रालयले जनाएको छ।

यसअघि वैदेशिक रोजगारीका लागि माग प्रमाणीकरण गर्दा कामको शीर्षक उल्लेख भए मात्र प्रक्रिया पूरा हुने व्यवस्था थियो । तर अब विस्तृत कार्य विवरण अनिवार्य गरिएकाले श्रमिकले विदेश जानुअघि नै आफूले गर्नुपर्ने कामबारे स्पष्ट जानकारी पाउनेछन् ।

मन्त्रालयका अनुसार गन्तव्य मुलुकका रोजगारदाताले प्रस्ताव गरेका सेवा-सर्त, पारिश्रमिक, सुविधा, कार्य वातावरण तथा सम्झौताका अन्य प्रावधानहरू भने यसअघिझैँ वैदेशिक रोजगार सम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५ अनुसार परीक्षण गरेर मात्र प्रमाणीकरण गरिनेछ ।