सेभेन अपको गुणस्तरमा कैफियत भेटिएन, विक्री वितरण खुला

दियोपोस्ट संवाददाता

काठमाडौँ । वरुण बेभरेजद्वारा उत्पादित सेभेन अप सफ्ट ड्रिंक्समा कुनै कैफियत नभेटिएपछि उत्पादन र विक्री वितरण खुला गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बिहीबारबाट सेभेन अपको उत्पादन र विक्री वितरण खुला गर्न अनुमति दिएको हो ।

यसअघि गत साउन ७ गते बजारबाट आएको सामान्य उजुरीकै आधार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले वरुण वेभरेजले उत्पादन गर्दै आएको सेभेन अपको उत्पादन र विक्री वितरणमा रोक लगाएको थियो ।

विभागले वरुण वेभरेजकै कार्यालयमा गई अनुगमन गरी उजुरी आएको ब्याचको सेभेन अपको स्याम्पलसमेत लिएर तत्कालका लागि उत्पादन बन्द गराएको थियो । तर विभागले आफ्नै ल्याबमा गराएको ल्याब टेस्टमा कुनै कैफियत नपाएपछि उत्पादन र विक्री वितरण खुला गरेको हो ।

उत्पादन र विक्री वितरण खुला गर्ने पत्रमा भनिएको छ,
‘प्रस्तुत विषयमा काठमाडौं जिल्ला काठमाडौं म. न. पा., वडा नं. ३२ मा सञ्चालनमा रहेको वरुण वेभरेज (नेपाल) प्रालिले उत्पादन गरी बिक्री वितरण गरेको २५० ml को 7UP ब्रान्डको Sweetened carbonated water  बोतलको गुणस्तर सम्बन्धमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा आएको उजुरी गुनासो सम्बोधन गर्ने क्रममा मिति २०८३।०४।०७ का दिन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, जिल्ला प्रशासन कार्यालय, काठमाडौं तथा यस कार्यालयका खाद्य निरीक्षण अधिकारी समेतको टोलीले त्यस उद्योगको स्थलगत अनुगमन निरीक्षणको गर्दा उजुरी गुनासो बमोजिमको २५० ml को 7UP ब्रान्डको Sweetened carbonated water को गुणस्तरमा शंका लागि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार नमुना संकलन गरी स्टकमा रहेको २५० ml को 7UP ब्रान्डको Sweetened carbonated water को बिक्री वितरण तथा सो ब्रान्डको Sweetened carbonated water उत्पादन रोक्का गरी उद्योगको जिम्मामा छोडेकोमा, सो सम्बन्धमा अनुसन्धान भई रहेको र संकलित २५० ml को 7UP ब्रान्डको Sweetened carbonated water नमुनाको गुणस्तर परीक्षण गराउँदा श्रीमान् सार्वजनिक खाद्य विश्लेषक ज्यूबाट प्राप्त विश्लेषण प्रतिवेदन अनुसार गुणस्तरमा कुनै कैफियत देखिन नआएकोले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा २० बमोजिमको दायित्व पूरा गरी, तयारी उत्पादित खाद्य पदार्थको गुणस्तर सुनिश्चितता पश्चात् मात्र विक्री वितरण हुने गरी खाद्य उद्योग सञ्चालन गर्ने सर्तमा मिति २०८३।०४।१४ को निर्णय तथा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ दफा ३३(४) अनुसार बिक्री वितरण तथा उत्पादन रोक्का खुला गर्ने आदेश दिइएको छ । सो अनुसार गर्नु गराउनु होला ।’

विभागले बजारबाट आएको सामान्य उजुरीकै आधारमा उत्पादन नै बन्द गराएर अनुसन्धान गरे पनि उजुरी आएको ब्याचमा कुनै कैफियत नभएको र गुणस्तर कायम नै रहेको पाइएपछि विभागले उत्पादन खुला गर्न पत्र दिएको हो ।

स्मरणीय के छ भने बहुराष्ट्रिय कम्पनीका उत्पादनमा पटक पटक यस्ता आरोपहरू लाग्ने गरेको भए पनि गुणस्तर परीक्षणका क्रममा भने कुनै कैफियत भेटिने गरेको छैन । बरु बजारमा गएपछि सामान्य सोडा कम्पनीले पनि यस्ता पेय पदार्थभित्र अखाद्य पदार्थ मिसाएर आरोप लगाउन सक्ने अवस्था भने अझै पनि कायम नै छ ।

सामान्य अवस्थामा पहिले उत्पादित सामाग्री वा पेय पदार्थको ल्याब टेस्ट गरेपछि कैफियत पाइएमा थप अनुसन्धान गरी बजारबाट रिकल वा फिर्ता ल्याउन भन्नुपर्नेमा विभागले भने उत्पादन नै स्थगित गर्न आदेश दिएको थियो ।

यो फुकुवाको पत्र सँगै अब सेभेन अपको उत्पादन र विक्री वितरण पुनः सुचारु हुनेछ ।