
काठमाडौं । यातायात व्यवस्था विभागले विगत चार वर्षदेखि छपाई हुन बाँकी रहेको (स्मार्ट लाइसेन्स)को छपाइ कार्य सम्पन्न गरेको छ । विभागले छपाइ हुन बाँकी रहेका सबै लाइसेन्स कार्ड तयार गरी सम्बन्धित यातायात व्यवस्था कार्यालयमा पठाइसकेको जनाएको छ ।
विभागका अनुसार २०८३ साउन ७ गतेसम्म कुल २७ लाख ४७ हजार २५३ थान लाइसेन्स कार्ड छपाइ सम्पन्न गरी हुलाकमार्फत सम्बन्धित कार्यालयमा पठाइएको हो ।
बिहीबार जारी विज्ञप्तिमा विभागले असार मसान्तसम्म छपाइ हुन बाँकी रहेका सबै लाइसेन्स कार्ड तयार भइसकेको जानकारी दिएको छ । विभागका अनुसार २०८२ कात्तिक १२ गते विभाग र सुरक्षण मुद्रण केन्द्रबीच भएको सम्झौतापछि लाइसेन्स छपाइ कार्यले तीव्रता पाएको थियो ।
यद्यपि, म्याद सकिन एक वर्षभन्दा कम अवधि बाँकी रहेका लाइसेन्स भने हाल छापिएको छैन । विभागले त्यस्ता लाइसेन्स नवीकरण गरेपछि १० वर्ष अवधिको नयाँ लाइसेन्स उपलब्ध गराइने भएकाले सम्बन्धित सेवाग्राहीलाई पायक पर्ने यातायात व्यवस्था कार्यालयमा गई नवीकरण गर्न आग्रह गरेको छ ।