
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मधेस प्रदेशका ११ केन्द्रमा पूर्वनिर्धारित एमबीएस परीक्षा स्थगित गरेको छ । त्रिवि, व्यवस्थापन संकायअन्तर्गत सञ्चालन भइरहेको मास्टर अफ बिजनेस स्टडिज (एमबीएस)परीक्षा स्थगित गरेको हो ।
मधेस प्रदेशको कार्यालयले एक सूचना जारी गर्दै विभिन्न जिल्लामा उत्पन्न असहज परिस्थितिका कारण त्रिविले मधेसका ११ केन्द्रमा पूर्वनिर्धारित एमबीएस परीक्षा स्थगित गरेको जनाएको छ ।
व्यवस्थापन संकाय,डीनको कार्यालयले पूर्वनिर्धारित परीक्षा तालिकाअनुसार सञ्चालन हुन लागेको एमबीएस दोस्रो तहको MKT 511: Marketing Management विषयको परीक्षा विशेष परिस्थितिका कारण स्थगित गरिएको जनाएको छ।
कार्यालयले सूचनामा नयाँ मिति पछि प्रकाशन गरिनुका साथै उक्त विषयबाहेक अन्य विषयका परीक्षा भने पूर्वनिर्धारित तालिकाअनुसार नै सञ्चालन हुने उल्लेख छ।
रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुर, सर्लाही क्याम्पस मलंगवा,जनज्योती बहुमुखी क्याम्पस लालबन्दी, सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस सिराहा, जेएस मुरारका बहुमुखी क्याम्पस लहान केन्द्रका परीक्षा स्थगित भएका छन् ।
यसैगरी महेन्द्र विन्देश्वरी बहुमती क्याम्पस राजविराज सप्तरी, नेशनल पिपुल कलेज कञ्चनपुर सप्तरी, जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुर रौतहट, गौरीशंकर यादव रौतहट क्याम्पस गौर, सिमरा कलेज बारा र ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज केन्द्रका परीक्षा पनि स्थगित भएका छन् ।
त्रिवि व्यवस्थापन संकायले सम्बन्धित सबै विद्यार्थी तथा परीक्षा केन्द्रलाई सूचनाबारे जानकारी गराउँदै आवश्यक तयारी गर्न आग्रह गरेको छ ।
