
काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृंखलास्थित ब्रोड पिकमा गएको हिमपहिरोपछि सम्पर्कविहीन भएका १० सदस्यीय आरोहण टोलीको नाम पाकिस्तानको अल्पाइन क्लबले सार्वजनिक गरेको छ।
अल्पाइनका अनुसार टोलीमा ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ, अमेरिकाकी मलोरी गाइस तथा नेपालका निर्मल पुर्जा, पुरबहादुर गुरुङ ‘युकता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा रहेका छन् ।
विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेको उक्त टोली ब्रोड पिक आरोहणका क्रममा बिहीबार मध्याह्न हिमपहिरोमा परेको बताइएको छ । घटनापछि टोलीसँग सम्पर्क हुन नसकेको र सबै सदस्यको खोजी जारी रहेको जनाएको छ।
पाकिस्तानी पर्वतारोहण अधिकारीहरूका अनुसार काराकोरम पर्वत शृंखलामा अवस्थित ब्रोड पिक क्षेत्रमा आएको हिमपहिरोपछि तत्काल खोज तथा उद्धार अभियान सुरु गरिएको हो । उद्धारका लागि पाकिस्तानी सेनाले दुईवटा हेलिकोप्टर परिचालन गरेको छ भने मौसम अनुकूल रहेसम्म हवाई तथा स्थलमार्गबाट खोजी कार्यलाई निरन्तरता दिइने जनाइएको छ।