
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धार्मिक सद्भावका लागि विभिन्न धार्मिक समुदायका अगुवासँग छलफल गरेका छन् ।
देशका विभिन्न स्थानमा देखिएको धार्मिक तनाव र प्रदर्शनका बिच सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले लामिछानेले विभिन्न धार्मिक समुदायका अगुवासँग छलफल गरेका हुन ।
शुक्रबार रास्वपाको संसदीय दल कार्यालयमा भएको छलफलमा हिन्दु र मुस्लिम समुदायका प्रतिनिधिहरू सहभागी भएका थिए । छलफलमा विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी, सचिवालय सदस्य राजुराज फुयाल, मौलाना नरुल हुसेन तथा मौलाना मोहम्मद खालिदको उपस्थिति रहेको थियो ।
छलफलका क्रममा सभापति लामिछानेले सुनसरी, सिराहालगायत देशका विभिन्न स्थानमा भइरहेको प्रदर्शनलाई शान्तिपूर्ण रूपमा अन्त्य गर्न र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै समुदायले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।