सरकारसँग सहमति भए पनि देवानगञ्जका मृतकका परिवारले शव बुझेनन्

दियोपोस्ट संवाददाता

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज गोलीकाण्डमा मृत्यु भएका दुई युवाको शव परिवारले अझै नबुझेपछि अन्त्येष्टि प्रक्रिया अन्योलमा परेको छ।

सरकारसँग गएराति गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको औपचारिक सहमतिअनुसार शुक्रबार शव बुझ्ने सहमति भए पनि स्थानीयको असन्तुष्टि र विरोधका कारण परिवार तथा आफन्तले शव नबुझी फर्किएका हुन् ।

सो घटनामा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका अभिभावक तथा गृह मन्त्रालयबीच सम्झौताअनुसार शुक्रबार शव बुझ्ने सहमति भए पनि स्थानीयको विरोध र असन्तुष्टिका कारण मृतकका परिवारले शव नबुझी फर्किएका छन् ।

शव बुझ्न विराटनगर पुगेका मृतकका परिवारका सदस्य र आफन्त स्थानीयको दबाब तथा विरोधपछि पुनः देवानगञ्ज फर्किएका छन् । सहमति कार्यान्वयन नभएसँगै शव  विराटनगरस्थित न्युरो अस्पतालको शव गृहमा राखिएको छ ।