वीरगञ्जमा पुनः निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन नपाउने

दियोपोस्ट संवाददाता

वीरगञ्ज । पर्सा जिल्ला प्रशासन कार्यालयले वीरगञ्जमा पुनः निषेधाज्ञा लागू गरेको छ । कार्यालयले वीरगञ्ज महानगरपालिकाको चारकिल्लाभित्र पुनः निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार शुक्रबार साँझ ५ बजेदेखि शनिबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो ।

जारी आदेशअनुसार उक्त अवधिभर पाँच जनाभन्दा बढी व्यक्ति जम्मा हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रूपमा रोक लगाइएको छ।

महानगरपालिकाको चार किल्लाभित्रको पूर्वमा प्रतिमा चोक-बसपार्क बाइपास सडक, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रलाई निषेधाज्ञाको दायरामा राखिएको छ ।

कार्यालयले सर्वसाधारणलाई शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्न प्रशासनको आदेशको पालना गर्न पनि आग्रह गरेको छ।