काठमाडौँ, असार ३० । एकदिवसीय विश्वकप क्रिकेटको उपाधी इंग्ल्याण्डले जितेको छ । आइतबार न्युजिल्याण्ड विरुद्ध भएको फाइनल खेल सुपरओभरमा पुगेपछि इंग्ल्याण्डले जितेको हो ।
निर्धारित ५० ओभरको खेल बराबरीमा टुगिंएपछि खेल सुपरओभरमा लम्बिएको थियो । सुपर ओभरमा पहिलो ब्याटिङ गरेको इंग्ल्याण्डले ६ बलमा १५ रन बनाएको थियो । दोस्रो ब्याटिङ गरेको न्युजिल्याण्डले केबल १४ रनमात्र बनाउन सफल भयो । अन्तिम एकबलमा २ रन आवश्यक रहँदा न्युजिल्याण्डले रन आउट हुँदै विश्वकप क्रिकेटको उपाधी गुमाएको हो ।
निर्धारित ५० ओभरको खेलमा इंग्ल्याण्डले २ सय ४२ रनको लक्ष्य प्राप्त गरेको थियो । लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले निकै खराब शुरुवात गरेको थियो । शुरुवाती चौथो नम्बरसम्मका ब्याट्सम्यानहरुले निकै निराशाजनक प्रदर्शन गरे । ओपनर जेसन रोय र जोनी बैस्र्टोको साझेदारीले २८ रनमात्र बनायो । जेसनले १७ रन बनाउँदा जोनीले ३६ रन बनाउँदै पवेलियन फर्के ।
अगाडीका खेलहरुमा निकै आक्रमक ब्याटिङ गरेका जोय रुट फाइनलमा भने चुक्न पुगे । तेस्रो विकेटका रुपमा मैदान प्रवेश गरेका रुटले टिमका लागि मात्र ७ रनको योगदान गर्न सके । इंग्ल्याण्डका लागि चौथो नम्बरमा मैदान प्रवेश गरेका कप्तान इयोइन मोर्गनसमेत ९ रनको निराशाजनक प्रदर्शन गर्दै पवेलियन फर्केपछि टोली निकै दवाबमा परेको थियो ।
छैटौँ ब्याट्सम्यान बिन स्टोक्सले इंग्ल्याण्डलाई खेलमा फर्काएका थिए । उनीे निकै सावधानीपुर्ण तरिकाले खेल्दै अन्तिमसम्म टिकेका थिए । उनले ब्यक्तिगत ८४ रन बनाए । उनले जोस बट्लरसंग १ सय १० रनको उत्कृष्ठ साझेदारी निभाए । बट्लर ५९ रन बनाउँदै आउट भएका थिए । अन्य खेलाडीले निकै सस्तो प्रदर्शन गरे ।
बलिङमा इंग्ल्याण्डका लकि फेर्गसन र जेम्स निसमले समान ३÷३ विकेट लिए । म्याट हेनरी र कोलिन दे ग्रान्दोमले एक एक विकेट लिए ।
फाइनल खेलमा इंग्ल्याण्डलाई भाग्यले पनि निकै साथ दिएको देखिन्छ । अन्तिम ओभरको चौथो बलमा रन लिने क्रममा स्टोक्सले थप ४ रन उपहारस्वरुप पाएका थिए । फिल्डिङमा रहेका न्युजिल्याण्डले स्टम्पतर्फ फालेको बल रन लिँदै गरेका स्टोक्सको ब्याटमा लागि बाउण्ड्री पुगेको थियो । अन्तिम ३ बलमा ९ रन आवश्यक हुँदा स्टोक्सले चौका र थप २ रन गरि ६ रन दिलाउँदै आवश्यक रनसंख्या ३ मा झारेका थिए । अन्तिम बलमा एक रनमात्रै लिएपछि खेल सुपरओभरमा पुगेको थियो ।
पहिलो ब्याटिङ गरेको न्युजिल्याण्डले ५० ओभर खेलेर २ सय ४१ रन बनाएको थियो । न्युजिल्याण्डका हेनरी निकोल्सले सर्वाधिक ५५ रन बनाए । त्यस्तै कप्तान केन विलियमसनले ३० रनको योगदान गर्दा टम लाथमले ४७ रन बनाए । मार्टिन गुप्तिल र जेम्स निसमले समान १९ रन बनाउँदा कोलिन दे ग्रान्दोमले १६ रनको योगदान गरे ।
बलिङतर्फ इंग्ल्याण्डका लियम प्लंकेट्स र क्रिस वोक्सले समान ३ विकेट लिँदा जोफ्रा आर्चर र मार्क उडले एकएक विकेट लिए । इंग्ल्याण्डले पहिलोपटक विश्वकप क्रिकेटको उपाधी जितेको हो । यसअघि तीनपटक सम्म फाइनल पुगेपनि उपाधी जित्न भने असफल भएको थियो ।