
काठमाडौँ । बालापनमा मामाघर सबैलाई प्रीय लाग्छ । मामाघरका हरेक सदस्यकोे माया र सद्भावका कारण पनि बच्चाहरु आमाघर भन्दा मामाघर बढी रुचाउँछन् । तर, साहित्यकार तथा कुशल रेडियो कार्यक्रम प्रस्तोता डा. नवराज लम्साललाई भानुभक्त मेमोरियल स्कुल मामाघर जस्तै लाग्छ ।
आइतबार २०६ औँ भानुभक्त दिवस तथा भानुभक्त मेमोरियल विद्यालयको ५४ औँ वार्षिक उत्सव कार्यक्रममा बिशेष अतिथिको भुमिकामा देखा परेका लम्साल केही भाबुक देखिन्थे । केही चिन्ता र केही छटपटी पनि उनको अनुहारमा झल्किन्थ्यो । २५ वर्ष पछि भानुभक्त स्कुलले आफुलाई सम्झिएको भन्दै उनले आफ्ना भवना साटे । उनले भने, ‘जव म भानुभक्त स्कुलमा आउँछु, तब मलाई मामाघर आएजस्तो अनुभुति हुन्छ ।’ यद्यपी, उनी २५ वर्ष अगाडि नेपाली भाषा साहित्यको शिक्षकको रुपमा उक्त स्कुलमा कार्यरत थिए ।
करिव चार वर्ष शिक्षकको रुपमा जागिरे जिवन बिताएका उनी सफल रेडियो कर्मी तथा साहित्यकारको रुपमा स्थापति भइसकेका छन् । अहिले उनी उमेरको हिसावले मात्र होइन, ब्यवहारिक रुपमै पाको श्रष्टाको रुपमा गनिन्छन् । उनको नेपाली भाषा प्रतिको माया र सद्भाव अटुट छ । ‘धरा’ र ‘कर्ण’ महाकाव्य जन्माएर उनले नेपाली भाषा साहित्यमा एउटा इट्टा थपेका छन् । उनले भानुभक्त मेमोरियल बिद्यालयले अयोजना गरेको वार्षिक उत्सव कार्यक्रममा आफ्नो भवना यसरी ब्यक्त गरे ।

मैले यो विद्यालय छोडेको पनि २५ बर्ष भएछ । आज तपाईहरुको अगाडी डा. नवराज लम्साल भएर उभिँदा सुरुमा अन्य मिसहरुले मेरो बारेमा जे भन्नुभयो ती सबै कुराहरुको जग यही भानुभक्त थियो । यो स्कुलबाट धेरै विद्यार्थीहले ज्ञान आर्जन गरेका छन् । सीप आर्जन गरेर प्रतिष्ठित नागरिक भएका छन् । मेरो हकमा ‘म शिक्षक’ भएर यहाँ आएपछि मेरो जिन्दगीकोे कायापलट भएको छ । बिद्यालयले मलाई प्रेमपुर्वक बोलाएपछि सबै कामकुरा छोडेर यहाँ आएको हुँ ।
मैले दुईवटा विश्व विद्यालयबाट स्नातकोत्तर सकेँ । अहंकार नठान्नुहोला ,पछि विद्यावारिधि गरेँ । तर, भानुभक्त आउँदा आइ.ए. पास गरेको भर्खरको लिखुरे ठिटो आएको थिएँ । मैले पढाउने विद्यार्थीहरु पनि म सरहकै थिए । म चुलबुले शिक्षकको रुपमा थिए । सबै विद्यार्थीहरुले राम्रो पढाउँछ भन्थे, म खुशी हुन्थेँ, फुर्कन्थे । झण्डै चार बर्ष मैले भानुभक्तमा पढाएँ, त्यसपछि रेडियो नेपालमा नाम निकालेर गएँ, अहिले म कार्यक्रम प्रमुख छु ।
‘धरा’ र ‘कर्ण’जस्तो महाकाव्य लेख्ने जग, बीबीसीले आयोजना गरेको कविता महोत्सवमा म पुरस्कृत हुँदाको जग यही भानुभक्त स्कुल थियो । म शिक्षक हुँदै गर्दा मैले विभिन्न उपलब्धिहरु हाँसिल गरेँ र यहाँबाट धेरै कुराहरु सिकेर गएँ । विद्यार्थीहरुलाई जस्तो प्रेरणा गर्नुहुन्छ त्यस्तै प्रेरणा म माथि पनि थियो । म आज बाहिर छु ,तर कहिल्यै यो विद्यालयबाट बाहिर गए जस्तो लाग्दैन ।
मैले रेडियोमा धेरै वर्ष काम गरेँ । देश विदेशमा कति धेरै कार्यक्रम संचालन गरे । तर, म मरेको दिन यो देशले ‘कवि नवराज लम्सालको निधन भयो’ भने मलाई पुग्छ ।
यो संसारमा विचार, बाद, सिद्धान्त र प्रणालीहरु धेरै भएपनि दर्शनको फेँदमा उभिने हो भने पूर्वीय र पाश्चात्य दर्शनलाई मुख्य रुपमा लिन सकिन्छ । पूर्वीय दर्शनको केन्द्र भनेको दक्षिण एसिया हो र त्यसको शिरोभाग नेपाल हो । हाम्रो विचार र दर्शनको जग भानुभक्तले रामायणमा उतारेको जग हो ।
साहित्यका सबै विधाहरु बाहिर फर्केर लेखिन्छन् । उपन्यास, कथा लगायत सबै साहित्यहरु बाहिरका सारा विम्व दृश्यहरुमाथि लेख्न सकिन्छ । कविता लेख्ने बेला एउटा कवि आँखा चिम्म गर्छ र बाहिरका विम्व भित्र प्रवेश गराउँछ । बाहिरका विम्बहरु भित्र प्रवेश भएपछि भित्रि चेतनाबाट श्रुतिमय भएर पोखिन्छ । भानुभक्तले रामायणमा बाहिरी बर्णन पनि लेख्नुभयो । र पूर्वीय दर्शनको भित्रि चेतना पनि लेख्नुभयो । त्यही हो भानुभक्तले गरेको महत्वपुर्ण कुरा ।

म साहित्यको मुल प्रवाहको विद्यार्थी, कविता मेरो मुल विषय हो । मैले रेडियोमा धेरै वर्ष काम गरेँ । देश विदेशमा कति धेरै कार्यक्रम संचालन गरे । राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गरेर २०४८ सालमा फ्रान्स गएँ । यो मेरो लागि अत्यन्तै महत्वपूर्ण र ऐतिहासिक क्षण बनेको थियो । तर, म मरेको दिन यो देशले ‘कवि नवराज लम्सालको निधन भयो’ भने मलाई पुग्छ । मलाई कविता माथि त्यति विश्वास छ । तर, त्यो कविता हुन भित्र श्रुतिमयता चाहिन्छ र यो देशको सम्पुर्णता बुझेको हुनुपर्छ । यो मुुलुकको जिम्मेवार कवि भएर उभिरहँदा दौरा सुरुवाल र सुनचाँदीको लोगो लगाएर प्राज्ञ भएर जाने कविहरुका लागि हामीले बहस गर्न जरुरी छ । ‘प्राज्ञ महोदय ! तपाईँले दौरा सुरुवालमाथि सुनचाँदीको लोगो लगाएर छिर्दा त्यो लोगोमा यो देशको सबै संस्कृतिको प्रतिविम्व छ कि छैन? तपाईँको कविता, लेखन, सिर्जना र कुचीमा यो देशको कुनकुन रंग देखिन्छ?’ भनेर प्रश्नगर्ने बेलाभएको छ ।
देशमा पुल बन्ला, सडक बन्ला, अस्पताल बन्ला, विद्यालय बन्ला, ती सबै फ्रेम हुन् । कविता र साहित्य त्यसभित्रको तस्वीर हुन् । तस्वीर बिनाको फ्रेमको कुनै अर्थ छैन । ढुकढुकी बिनाको शरीरको केही अर्थ छैन ।
म भानुभक्तलाई अत्यन्तै श्रद्धा गर्छु । पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरेजस्तै भानुभक्तले भाषिक एकिकरण गरे । म पढ्न चाहन्छु, फाल्गुनन्दले के गरे? विद्यापतीले के गरे? सुदुर पश्चिमको देउडा र सुदुरपुर्वको चण्डी र पालममा के फरक छ? काठमाडौँको राजमती र तराईको झिजियामा के फरक छ? म यी सबै कुरा साहित्यमा पढ्न चाहन्छु ।
कविले पुर्वको चण्डि र पश्चिमको देउडा मेरो हो नभने सम्म, काठमाडौँको राजामती र तराईको झिजिया मेरो हो नभनेसम्म तथा फाल्गुनन्द र विद्यापती नेपालको हो भनेर काव्यमा नलेखिएसम्म, र देशमा उजागर नगरिएसम्म नयाँ नेपाल निर्माण हुन सक्दैन ।
देशमा पुल बन्ला, सडक बन्ला, अस्पताल बन्ला, विद्यालय बन्ला, ती सबै फ्रेम हुन् । कविता र साहित्य त्यसभित्रको तस्वीर हुन् । तस्वीर बिनाको फ्रेमको कुनै अर्थ छैन । ढुकढुकी बिनाको शरीरको केही अर्थ छैन । भानुभक्त स्कुलले यसलाई बुझेर काम गरेको छ । यो समाजलाई असाध्यै महत्वपुर्ण कुराहरु दिएको छ । अब्बल नागरिक दिएको छ । समाजमा उच्चतम चेतना बाँढेको छ । त्यसैले त भानुभक्त स्कुल उत्कृष्ठ छ ।
काठमाडौँमा फेसन हावी छ । ‘विदेशी नाम नराखी स्कुल चल्दैन कि’ भन्ने मनाविज्ञान छ । वौद्धिक दरिद्रताहरुका बीच भानुभक्तलाई सलाम छ, जसले बर्षौदेखि स्कुलको नाम भानुभक्त राखेर अब्बल मानिसहरु जन्माइरहेको छ ।

यहाँ पढ्ने भाई बहिनीहरुलाई भन्ने पर्ने मेरा तीनवटा सुझाव छन् । पहिलो, कहिल्यै पनि देशलाई नबिर्सनु । तिमिहरु संसार घुम, क्षमताले धान्छ भने चन्द्रमामा जाउ । आविस्कार गर । तिमीहरुलाई शुभकामना छ । तर देशलाई नबिर्स ।
दोस्रो कुरा, आमा नबिर्स । आमा बिर्सने र आमालाई रुवाउने सन्तानको कहिल्यै भलो हुँदैन । तेस्रो कुरा, तिम्रो शिक्षक शिक्षिकालाइ माया गर । शिक्षकहरु आउँछन, पढाउँछन, जान्छन भन्ने भावना राख्नेले जतिसुकै राम्रो नतिजा ल्याएपछि देशको असल नागरिक बन्न सक्दैन । छोराछोरीलाई जति माया गरेर बाबुआमाले हेर्छन्, त्योभन्दा धेरै चिन्ता र मायाका साथ शिक्षकहरुले हेर्छन । जसले शिक्षकलाई एक भगवान र अविभावक सम्झँदैन र श्रद्धा गर्दैन भने जतिसुकै पढेपनि काम लाग्दैन । यी तीन चिजलाई माया गर्ने विद्यार्थीले स्वतः आफुलाई माया गर्छ ।