रोयल क्यासिनोकी लगानीकर्ता जयन्ती थापा सम्पत्ति सुद्धिकरणको नियन्त्रणमा !

दियो पोस्ट  

काठमाडौं, २ साउन । रोयल क्यासिनोकी एक लगानीकर्ता जयन्ती थापालाई सम्पत्ति शुद्धीकरण विभागले बुधबार नियन्त्रणमा लिएको छ । रोयल क्यासिनो गिल्ट इन्भेष्टमेन्ट प्रालिको नाममा होटल याक एण्ड यति परिसरमा सञ्चालन हुँदै आएको छ । थापाले सम्पत्ति शुद्धीकरण गरेर क्यासिनोमा लगानी गरेको आशंका गरिएको छ । थापाको सम्पत्तिको स्रोतका सम्बन्धमा उजुरी परेपछि विभागले बाध्य भएर उनीमाथि अनुसन्धान सुरु गरेको हो ।

थापालाई पक्राउ गर्ने क्रममा क्यासिनोसँग सम्बद्ध कागजात पनि नियन्त्रणमा लिएको जनाइएको छ । उनीसहित सो क्यासिनोमा सुनिल रायमाझी, भारतीय नागरिक आशिष पटेललगायतको लगानी रहेको बताइएको छ । सुरेन्द्रबहादुर सिंहबाट जयन्ती थापाको नाममा क्यासिनो नामसारी गरिएपछि सामान्य कर्मचारीले सो क्यासिनोको सेयर खरिद गरेको रकमको स्रोत नखुलेको भन्दै छानबिन गरी कारबाही गर्न माग गर्दै विभागमा उजुरी परेको थियो ।

सिंहले थापालाई क्यासिनो नामसारी गर्दा २५ करोड चुक्ता पुँजी समेत नबुझाई १३ करोड २८ लाख ५९ हजार ४ सय १४ रुपैयाँ मात्र बुझाएका थिए । भारतीय नागरिक पटेलले विदेशी लगानी तथा प्रविधी हस्तान्तरण ऐनअनुसार लगानी नभित्र्याई क्यासिनोमै काम गर्ने मजदुर जयन्तीको नाममा २५ करोडको सेयर गिल्ट इन्टरनेशनलका सुरेन्द्रबहादुर सिंहबाट किनेका थिए । सुरेन्द्रबहादुरबाट २०७५ भदौ १७ मा पटेलले क्यासिनो किनेका थिए । आजको आर्थिक दैनिकमा खबर छ ।