काठमाडौँ, साउन ३ । त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति चैतन्यनाथ शर्माको निर्देशन पालना गरेर कपी जाँचेर नम्बर थपघट गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेपछि त्यसको पीडा थेग्न नसकेर एक आरोपीले काठमाडौंको त्रिपुरेश्वरस्थित राधा भवनको छ तल्ला माथिबाट हाम फालेर आत्महत्या गरेका छन् ।
शुक्रबारको आर्थिक दैनिकका अनुसार त्यसरी आत्महत्या गर्ने त्रिविका पूर्वकर्मचारी रामबहादुर पाण्डे हुन् । लमजुङको बेसीसहर घर भई हाल काठमाडौंको मातातीर्थ बस्ने पाण्डेले राधा भवनको छैठौँ तल्लामा रहेको एउटा ल फर्म नजिकैबाट हाम फालेर आत्महत्या गरेका हुन् ।
अख्तियारको छानविनमा गोल्ड मेडल दिलाउनका लागि एकै विषयमा ५ देखि ५० नम्बरसम्म थप गरिएको भेटिएको थियो । त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यलयका कर्मचारीको मिलेमतोमा कीर्ते सर्टिफिकेट बनाएर असक्षम विद्यार्थीलाई गोल्ड मेडल प्रदान गरिएको थियो । आयोगले त्रिविका कर्मचारीले ४ लाख ५० हजार घुसमार्फत लिएर गोल्ड मेडल बिक्री गर्ने र फेल हुने विद्यार्थीलाई पास गराउने गरेको प्रमाण फेला पारेपछि विशेष अदालतमा मुद्धा दायर गरेको हो ।