विस्फोटनमा परी मृत्यु हुने ‘विप्लव’ समूहकै कार्यकर्ता

दियो पोस्ट  

धनगढी, साउन ४ । नेत्रविक्रम चन्द समूहको सेती महाकाली ब्यूरोले धनगढीमा बिहीबार साँझ भएको विस्फोटनको घटनामा मृत्यु हुने आफ्नो पार्टीका कार्यकर्ता रहेको जनाएको छ ।

विप्लव समूहको सेती महाकाली ब्यूरोले निकालेको विज्ञप्तिमा उक्त विस्फोटनको घटनामा मृत्यु हुने रामबहादुर सिंह पार्टीका कार्यकर्ता रहेका र कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको बम विस्फोट भएको उल्लेख गरिएको छ ।

उक्त घटनामा घाइते सिंहको माया मेट्रो अस्पताल धनगढीमा उपचारका क्रममा गएराति मृत्यु भएको थियो ।मृतकको ठेगाना बझाङ जिल्ला जयपृथ्वीनगरपालिका–१ रहेको बताइएको छ । चटकपुर चोक नजिकै रहेको निलम होटेलमा बिहीबार साँझ भएको उक्त घटनामा पाँच जना घाइते भएका थिए ।

घटनामा घाइते हुने होटेल सञ्चालक केशव पाण्डेयलाई थप उपचारका लागि कोहलपुर लगिएको छ । यसैगरी अन्य घाइते कञ्चनपुर बेलडाँडीका लक्ष्मण सेरला, धनगढीका कुखुरापालन व्यवसायी ्जीतेन्द्र यादव र भारत घर भई धनगढीको एक ट्र्याक्टर ग्यारेजमा काम गर्ने मोबिन खाँको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले चिया खान होटेलमा बसेलगत्तै मृतक सिंह र उपचारार्थ रहेका सेरलामध्ये एक जनाले झोलामा राखेको बम विस्फोटन भएको बताउनुभयो । सेरला पनि विप्लपकै कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।