धनगढी, साउन ४ । काठमाडौँ महानगरपालिकाले महानगरका सडकबाट सङ्कलन गरेको धुलोलाई इँटा बनाउन दिने भएको छ । महानगरभित्र यान्त्रिक कुचो (बु्रमर) ले दैनिक सङ्कलन गर्ने फोहरलाई सदुपयोग गर्ने उद्देश्यले इँटा उत्पादन गर्ने कम्पनीलाई धुलो दिने योजना बनाइएको महानगरले जनाएको छ ।
यान्त्रिक कुच्चो शुरु भएदेखि अहिलेसम्म सो धुलो सडकका खाल्डा पुर्न वा पार्कमा सम्याउनका लागि प्रयोग हुँदै आएको थियो । त्यसका लागि नियमित धुलो नचाहिने हुँदा धुलोलाई इँटा बनाउन दिने योजना बनाइएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए । सडकबाट सङ्कलन भएको धुलो इँटा बनाउनका लागि उपयुक्त हुने बताइएको छ ।
महानगरले सञ्चालन गरिरहेका सबै बु्रमरले दैनिक आठ टनसम्म धुलो सङ्कलन गर्ने गरेका छन् । यो फोहर अरु फोहरमा मिसाउने नगरिएको उनको भनाई छ ।
यान्त्रिक कुच्चो (बु्रमर) ले धुलो बढारेर सफा गर्ने मात्रै नभएर त्यसलाई सङ्कलनको समेत काम गर्दै आएको प्रवक्ता डङ्गोलले बताए ।
महानगरले पनि फोहरका कर्मचारी कम गर्दे जाने योजना बनाएको उहाँले बताउनुभयो । अहिले महानगर आफैँले खरीद गरेको पाँच र अनुदानमा प्राप्त दुईसहित सातवटा यान्त्रिक कुच्चो छन् । तिनले महानगरलाई धुलोरहित बनाइरहेको उनको भनाई छ ।
सडकको धुलोसँगै घरबाट सडकसम्म फोहर आउनै नदिने योजना महानगरको छ ।