अख्तियारले बालुवाटार जग्गा प्रकरणमा वयान लिने भएपछि विजय कुमार गच्छदार सम्पर्कविहीन

दियो पोस्ट  

काठमाडौँ, साउन ५ । बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान अयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च पदस्थ व्यक्तिहरुको वयान लिइरहेको छ । तर, आयोग र ब्यूरोले वयान लिने भएपछि नेपाली काँग्रेसका उपसभापति तथा तात्कालिन भौतिक तथा पुर्वाधार मन्त्री विजय कुमार गच्छदार सम्पर्कविहिन भएका छन् ।

दुवै निकायले बयानमा बोलाएपछि १५ असारमा भारत गएका उनी उतैबाट अमेरिका गए । भारत फर्किएपछि पनि नेपाल आउनुको सट्टा चेन्नईतिर लागेका छन् ।

यस्ता बयानमा अख्तियारले फोनबाटै बोलाउने, फोनबाटै पछ्याउने र नआएमा पत्र काट्ने र पत्रिकाबाट सार्वजनिक सूचनासमेत प्रकाशित गर्ने गरेको छ । गच्छदारले जानीजानी बयान टार्न खोजेको भन्दै अख्तियारले सार्वजनिक सूचना जारी गर्ने तयारी गरेको छ ।

यसअघि तत्कालीन भौतिक पूर्वाधारसचिव तथा अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले पनि बयान दिन अस्वीकार गर्दा अख्तियारले गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गर्ने तयारी गरेको थियो । गत बिहीबारसम्म बयान दिन जान्न भनेका बस्न्यात शुक्रबार कार्यालय नखुल्दै अख्तियार पुगेका थिए । उनी बेलुका कार्यालय सकिएपछि मात्र फर्किएका थिए ।

बयानका लागि बोलाउन खोज्दा गच्छदार सम्पर्कमा आउन नचाहेपछि सार्वजनिक सूचना जारी गर्ने तयारी गरेको अख्तियार स्रोतले जनाएको छ । अख्तियार स्रोतका अनुसार बयानका लागि बोलाउने तयारी गरेलगत्तै गच्छदारले नेपाल छाडेका छन् । नयाँ पत्रिकामा सुवास भट्ट र रमेश सापकोटाले समाचार लेखेका छन् ।